भ्रष्टाचार नियन्त्रणमा उल्लेख्य प्रगति भएको प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले सुशासन अभियानअन्तर्गत भ्रष्टाचार नियन्त्रणमा उल्लेख्य प्रगति गरेको बताएका छन्।

रूकुमपूर्व– प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणमा उल्लेख्य प्रगति गरेको दाबी गरेका छन्।

रूकुमपूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले विगतमा नेपाल भ्रष्टाचारका कारण बदनाम भएको भन्दै वर्तमान सरकारको सुशासन अभियानका कारण भ्रष्टाचार नियन्त्रणमा उल्लेख्य प्रगति भएको बताएका हुन्। उनले बालुवाटार जग्गा प्रकरण र भुटानी शरणार्थी प्रकरणको फाइल खोली मुद्दाको प्रक्रिया अगाडि बढाउनु पनि सुशासन अभियानअन्तर्गतकै काम भएको जिकिर गरे।

प्रधानमन्त्री दाहालले भूमाफियाविरुद्ध अभियान शुरू गरेर हजारौँ जनतालाई राहत प्रदान गरिएको उल्लेख गरे। उनले नियमित रूपमा भइरहेको सुन तस्करी नियन्त्रणका लागि सरकारले अभियान चलाएको र सो मुद्दा हाल अदालतमा विचाराधीन रहेको सुनाए।

भ्रष्टाचार र तस्करी नियन्त्रणजस्ता देशविरोधी गतिविधिलाई माओवादी नेतृत्वको सरकारले मात्र नियन्त्रण गर्न सक्छ भन्ने तथ्य स्थापित भएकोसमेत प्रधानमन्त्री दाहालको जिकिर थियो।

तराई/मधेशमा लामो समयसम्म सामन्तवादको अवशेषका रूपमा रहेको मिटरब्याजीविरुद्ध कानून बनाएर कारबाही गरी पीडित नागरिकलाई न्याय दिलाइएको उनले उल्लेख गरे।

उनले आफूले प्रधानमन्त्रीको जिम्मेवारी लिँदै गर्दा देशमा समाजवादको आधार निर्माण गर्दै बाँकी रहेका विभेदको अन्त्य गर्नुपर्छ भन्ने सोचाइका आधारमा सामाजिक न्याय, सुशासन र समृद्धिको नारा बनाएर कामहरू शुरू गरेको बताए। 

“अरूभन्दा फरक ढंगले काम गर्ने र पहिले पहिलेभन्दा भिन्न ढंगले समाजवादको आधार निर्माण गर्ने काम गर्ने संकल्प लिएको थिएँ। त्यो संकल्प लिए पछि विभिन्न क्षेत्रमा सुधारका र समाजवादको आधार निर्माण गर्ने कामहरू शुरू भएका छन्,” उनले भने।

प्रधानमन्त्री दाहालले सरकारका अभियानमा आम जनताको सार्थक सहयोग जरुरी रहेको पनि बताए। उनले आफू प्रधानमन्त्री भएको बेला रूकुमपूर्वी क्षेत्रको विकासको कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।