रूकुमपूर्व केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

रूकुमपूर्व केन्द्रबिन्दु भएर आइतबार दिउँसो ४.३ म्याग्निच्युडको भूकम्प गएको छ।

काठमाडौँ– रूकुमपूर्व केन्द्रबिन्दु भएर आइतबार दिउँसो भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रका अनुसार रूकुमपूर्वको तकसेरा केन्द्र भएर २ बजेर ५९ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको छ।

कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि यो क्षेत्रमा परकम्प जाने क्रम जारी छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अहिलेसम्म ४८० भन्दा बढी परकम्प गएको छ। यसबीचमा पाँच म्याग्निच्युडभन्दा कमका भूकम्पका धक्का पनि महसुस गरिएका छन्।

जाजरकोट केन्द्र भएर गएको भूकम्पले ठूलो धनजनको क्षति पुर्‍याएको छ। भूकम्पका कारण घर भत्किएर आवासविहीन भएकाहरू अहिले त्रिपालमुनि बसिरहेका छन्।