छठपर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै (तस्वीरहरू)

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमी तिथिसम्म भनाइने छठपर्व पहिलो दिन साँझ सूर्यलाई अर्घ्य अर्पण गरी पुनः भोलिपल्ट बिहान अर्घ्य अर्पण गरेपछि सम्पन्न भएको मानिन्छ।

तस्वीरहरू : मनिस पौडेल

मिथिला क्षेत्रमा लोक आस्थाका साथ मनाइने छठपर्वमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छ। पञ्चमी तिथिका दिन राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका व्रतालुले आइतबार षष्ठीका दिन बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छन्।

सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिइएपछि यसपालिको छठ पर्व सम्पन्न हुने छ। वीरगन्जसहित तराई/मधेश र देशभरका विभिन्न भूभागका अधिकांश पोखरी, ताल तलाउ, खोला र नदी सरसफाइ गरी पूजास्थानलाई चिटिक्क पारेर सिँगारिएको छ।

वीरगन्ज घडिअर्वा पोखरीमा छठपूजाका लागि ठूलो संख्यामा व्रतालुको उपस्थिति छ। व्रतालुहरूले पोखरीमा विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्। छठपूजामा पहिलो दिन साँझको समयमा सूर्य देवतालाई प्रसादको रूपमा जुन सामग्री अर्घ्य अर्पण गरिन्छ भोलिपल्ट बिहानको समयमा उक्त सामग्री अर्थात् ‘भोरका अर्घ्य’मा दिइने परम्परा छ।

कार्तिक शुक्ल चतुर्थीको दिनदेखि शुरू हुने यो पर्व कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न हुन्छ। सूर्य देवतालाई पहिलो दिन साँझ अर्घ्य अर्पण गरिन्छ भने दोस्रो दिन बिहान अर्घ्य अर्पण गरेपछि छठपर्व सम्पन्न भएको मानिन्छ। गरिब, धनी, दलित एवं उचनिचको ख्याल नगरी यो पर्व समाजमा रहेका सबै वर्ग एकसाथ मिलेर मनाउने गरेका छन्।