इजरायल–हमास युद्धबीच मध्यस्थता गरिरहेका कतारका प्रधानमन्त्री अल थानीले बन्धकहरूलाई मुक्त गर्ने सम्झौता ‘सामान्य’ र व्यावहारिक कठिनाइका कारण रोकिएको बताएका छन्।
प्यालेस्टिनी कट्टरपन्थी इस्लामिक विद्रोही समूह हमासले गत अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणमा कब्जामा लिएका बन्धकहरूलाई मुक्त गर्ने सम्झौता अब ‘सामान्य’ र व्यावहारिक कठिनाइका कारण रोकिएको कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीले बताएका छन्।
कतारले इजरायल हमास युद्धबीच मध्यस्थता गरिरहेको छ। युरोपेली संघ (ईयू)का विदेश नीति प्रमुख जोसेप बोरेलसँगको संयुक्त पत्रकार सम्मेलनमा आइतबार कतारी प्रधानमन्त्री अल थानीले भने, “वार्तामा बाँकी रहेका चुनौतीहरू ठूला नभइ साना छन्, ती अधिक तार्किक छन्, ती अधिक व्यावहारिक छन्।” कतारले अस्थायी युद्धविरामको बदलामा २४० बन्धकमध्ये केहीलाई मुक्त गर्ने उद्देश्यले मध्यस्थता वार्तामा सहयोग गरेको छ।
“केही हप्तादेखि चलिरहेको यो सम्झौता समय–समयमा उतारचढावबाट गुज्रिरहेको छ,” उनले बताए। उनले सम्झौताको प्रसंगलाई जोड्दै भने, “हामी एक सम्झौतामा पुग्नको लागि पर्याप्त नजिक पुगेका छौं भन्नेमा म अझ बढी विश्वस्त बनेको छु। सम्झौताले बन्धकहरूलाई सुरक्षित रूपमा उनीहरूको घर फिर्ता ल्याउन सक्छ।”
अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा करिब एक हजार ४०० जनाको मृत्यु भएको इजरायली अधिकारीले बताएका छन्। मृतकमध्ये अधिकांश इजरायली नागरिकहरू थिए भने केही विदेशी पर्यटक, विद्यार्थी र कामदारसमेत थिए। त्यसमा १० जना नेपाली विद्यार्थीले पनि ज्यान गुमाएका थिए। उक्त दिन हमास समूहले २४० जनालाई बन्धक बनाई लगेको थियो, जसमा नेपाली विद्यार्थी कञ्चनपुरका विपिन जाेशी पनि रहेको पुष्टि भएको छ।
सन् २००७ देखि गाजामा शासन गर्दै आएको हमास सरकारका अनुसार सेनाको निरन्तर हवाई र स्थल कारबाहीमा हालसम्म १२ हजार ३०० व्यक्तिको मृत्यु भइसकेको छ, जसमध्ये पाँच हजार भन्दा बढी बालबालिका रहेका छन्। जोर्डन जानुअघि कतारका अमिरलाई भेट्ने कार्यक्रम तय भएका बोरेलले इजरायलमाथि हमासले गरेको आक्रमणको निन्दा गर्दै सबै बन्धकलाई ‘विनाशर्त रिहा’ गर्न आग्रह गरे।
“भयावहताबीच कुनै पदानुक्रम छैन, एउटा आतंकले अर्को आतंकलाई उचित ठहर्याउँदैन, बढ्दो हिंसा अन्त्य गर्न र यस क्षेत्रमा ‘दिगो शान्ति’ सिर्जना गर्न आग्रह गर्दै ईयूका विदेश नीति प्रमुखले भने। वासिङ्टन पोस्टले गाजामा बन्धक बनाइएका महिला र बालबालिकालाई रिहा गर्ने अस्थायी सहमति भएको समाचार प्रकाशित गरेपछि संयुक्त राज्य अमेरिकाले इजरायल र हमासबीच सम्झौताका लागि अझै वार्ता भइरहेको बताएको छ।
नाम नखुलाइएका स्रोतलाई उद्धृत गर्दै पत्रिकाले सबै पक्षले कम्तीमा पाँच दिनका लागि युद्ध बन्द गर्ने र केही बन्धकहरूलाई समूहमा रिहा गरिने जनाएको छ। ह्वाइट हाउसले शनिबार साँझ एक्समार्फत् सन्देश जारी गर्दै वार्ताबाट कुनै पनि ठूलो सफलता मिलेको भन्ने कुरामा कुनै विश्वशनीय आधार नरहेको बताएको थियो। थानीले आइतबार भने, “सम्झौतामा हस्ताक्षर गर्नुअघि सञ्चारमाध्यममा वार्ताको बारेमा सूचना आउनु प्रत्युत्पादक छ।"
बिहीवार अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्धक बनाइएकाहरूलाई मुक्त गर्ने सम्झौतामा पुग्नेमा आफू ‘हल्का आशावादी’ रहेको बताएका थिए। सबै बन्दीहरूलाई रिहा गर्नुअघि युद्धविरामको आह्वानलाई इजरायलले अहिलेसम्म अस्वीकार गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
