निर्वाचनको पूर्वसन्ध्यामा घर फर्किने बढे, सुनसान बन्दै काठमाडौँ

काठमाडौँका कलंकी, कोटेश्वर, नयाँ बसपार्क, गौशाला लगायतका क्षेत्रमा गाउँ जानेहरू प्रशस्त भेटिएपनि काठमाडौँका भित्री गल्लीहरूको चहलपहल कम देखिएको छ।

काठमाडौँ- निर्वाचनका लागि काठमाडौँबाट गाउँ जानेहरू बढेसँगै काठमाडौँ सुनसान बनेको छ। 

मतदान गर्न जानेहरूको संख्या बढेसँगै काठमाडौँका सडकहरू खाली देखिन थालेका छन् भने बजार पनि बन्दप्रायः छ। 

काठमाडौँको कलंकी, कोटेश्वर, नयाँ बसपार्क, गौशालालगायतका क्षेत्रमा गाउँ जानेहरू प्रशस्त भेटिएपनि काठमाडौँका भित्री गल्लीहरूमा भने मानिसहरूको चहलपहल कमै देखिन्छ। 

मंसिर ४ गते आइतबार (भोलि) एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ। निर्वाचनमा आफ्नो मौलिक अधिकारलाई प्रयोग गर्न र देश विकासको लागि सक्षम नेतृत्व चयन गर्न बाहिरी जिल्लाहरूबाट काठमाडौँ आइ बसोबास गर्नेहरू आफ्नो गृह जिल्ला फर्किँदा काठमाडौँ सुनसान बनेको हो। 

त्यस्तै, काठमाडौँका सुनसान सडकमा सुरक्षाकर्मीहरूले भने सुरक्षा दिइरहेका छन्। निर्वाचन बिथोल्न सक्ने सम्भावनालाई मध्यनजर गरी सुरक्षाकर्मीहरू सुरक्षाको लागि तैनाथ छन्। यतिबेला हरेक मतदान स्थलमा मतदान केन्द्र धमाधम निर्माण र पूरा गर्ने काम भइरहेको छ। 

निर्वाचन आयोगले भने निर्वाचन सम्बन्धी सम्पूर्ण तयारी सकिसकेको जनाएको छ। निर्वाचन भोलि बिहान ४ बजेबाट साँझ ५ बजेसम्म हुनेछ।