प्रधानमन्त्री भन्छन्– अर्थतन्त्र दबाबमुक्त छैन

प्रधानमन्त्री पुष्पकमल दाहालले कयौँ सूचक सकारात्मक देखिए पनि अर्थतन्त्र दबाबमुक्त नरहेको बताउँदै समस्या समाधानका लागि गहन विमर्शको आवश्यकता औँल्याए।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र अझै दबाबमुक्त नरहेको बताएका छन्। मंंगलबार सिंहदरबारमा राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायहरूसँग वर्तमान अर्थतन्त्रका समस्या समाधानबारेको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले अर्थतन्त्रका कयौँ सूचकहरू सकारात्मक रहे पनि अर्थतन्त्र दबाबमुक्त नरहेको बताउँदै समस्या समाधानका लागि गहन विमर्शको आवश्यकता औँल्याए। “धेरै चिन्तित हुनुपर्ने छैन भन्ने पनि छ अर्कोतिर धेरै नै गम्भीर स्थितिमा छौँ भन्ने छ। सबै मिलेर यसको सामना नगर्ने हो भने संकट गहिरिँदै जानेछ,” उनले भने।

प्रधानमन्त्री दाहालले सहकारी, लघुवित्त, बैंक ब्याज, व्यवसायीको कर्जासम्बन्धीका समस्या विगतमा विभिन्न कारणले पैदा भए पनि एकथरिले यो समस्या देखाएर राजनीतिक फाइदा उठाउने प्रयास गरिरहेको बताए। पछिल्लो समय गणतन्त्रविरोधी अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंप्रति लक्षित गर्दै उनले समाजमा अविश्वास र अराजकता फैल्याउने प्रयास भइरहेको उल्लेख गरे।

सिंहदरबारमा अर्थतन्त्रमा देखिएका समस्याबारे प्रधानमन्त्री दाहालसहितका सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिबिचको छलफल जारी छ। अर्थतन्त्रलाई चलायमान कसरी बनाउन सकिन्छ भन्ने सुझाव, सल्लाहको आवश्यकता महसुस गर्दै सरकारले निजी क्षेत्रसँग छलफल आयोजना गरेको हो।

सोमबार बालुवाटारमा प्रधानमन्त्री दाहाल, अर्थमन्त्री डा. प्रकाशशरण महत, गभर्नर महाप्रसाद शर्मालगायतका सम्बन्धित पदाधिकारीबीच अर्थतन्त्रका वर्तमान समस्या छिटो समाधान गर्नुपर्नेबारे छलफल भएको थियो।