छैटौँ लुम्बिनी प्रादेशिक महोत्सवको प्रवेशद्वारमा करिब पाँच लाख रुपैयाँको लागतमा भारतबाट कालिगड बोलाएर विमानको आकृति तयार हुँदैछ।
भैरहवा (रुपन्देही)– भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भई सञ्चालनमा समेत आइसकेको छ। विमानस्थल सञ्चालनमा आएको एक वर्ष बढी भइसक्दा पनि नियमित विमान सञ्चालन हुन नसकेका कारण यहाँका उद्योगी व्यवसायी निराश छन्। नियमित विमान सञ्चालनका लागि यहाँका व्यवसायीले पटक–पटक विमानस्थल अगाडि नै विभिन्न विरोधका कार्यक्रम गरेका छन्।
विरोधको यसै कार्यक्रमलाई जनस्तरमा लैजान एवं अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालनमा ल्याउन दबाब दिने उद्देश्यले स्थानीय व्यवसायीले नौलो तरिका अपनाएका छन्। बुधबारदेखि रुपन्देही उद्योग व्यापार संगठनले भैरहवामा आयोजना गर्ने छैटौँ लुम्बिनी प्रादेशिक महोत्सवको प्रवेशद्वारमा कृत्रिम विमान निर्माण गरेका छन्।
“विमानस्थललाई नै हेरेर यहाँ करिब ८० अर्ब रुपैयाँ बराबरको लगानी भएको छ,” संगठनका अध्यक्ष दर्पण श्रेष्ठले भने, “सरकारले यसको सञ्चालनमा उदासीनता देखाएपछि जनस्तरमै दबाब सिर्जना गर्ने उद्देश्यले मेलामै विमान निर्माण गरेका हौँ।”
करिब पाँच लाख रुपैयाँको लागतमा भारतका कालिगड बोलाएर प्रवेशद्वारमा विमानको आकृति तयार हुँदैछ। मेला अवलोकनका लागि आउने दर्शकको पहिलो नजरमै यसमै परोस् भन्ने मनसायले प्रवेशद्वारमै विमानको आकृति निर्माण गरिएको संगठनका पूर्वअध्यक्ष नारायणप्रसाद भण्डारीले बताए।
“लगाउनेले यसको विभिन्न अड्कल लगाउलान् तर यो बनाउनुको एक मात्र उद्देश्य अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि दबाब दिनु हो,” उनले भने, “यसले यो क्षेत्र विमानस्थल सञ्चालनमा नआउँदा व्यवसायी कति पीडामा छन् भन्ने पनि देखाउँछ।”
बुधबारदेखि शुरू हुने प्रादेशिक महोत्सवमा प्रवेशद्वारसँगै मेला सचिवालय अर्घाखाँचीस्थित प्रसिद्ध सुपा देउराली मन्दिरको आकृति बनाइको छ। स्थानीय उत्पादन र कृषि प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित मेला मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ।
महोत्सवमा खेलकुद प्रवर्द्धनका लागि भलिबल, कुस्तीलगायत खेल आयोजना गरिने पूर्वअध्यक्ष श्रेष्ठले बताए। तराईमा धेरै रुचाइएको कुस्ती प्रतियोगितामा महिला पहलमानको समेत सहभागिता रहने उनको भनाइ थियो।करिब पाँच लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा ३५० स्टल हुने बताइएको छ।
भैरहवामा मेला महोत्सव एवं सार्वजनिक कार्यक्रमका लागि जग्गाको व्यवस्था नहुँदा वर्षैपिच्छे अस्थायी संरचना बनाउनमै लाखौँ रुपैयाँ लाग्ने गरेको व्यवसायीले गुनासो गरे। उद्योग व्यापार संगठनका पूर्वअध्यक्ष अनिल ज्ञवालीले यस विषयमा पनि सरोकारवाला सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
