ललितपुरको पुल्चोक क्षेत्रमा विरोधका कार्यक्रम गर्न ६ महिनासम्म निषेध

ललितपुर प्रशासनले यूएन हाउस र मन्त्रीनिवास क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै पुल्चोक क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भई आन्दोलन तथा विरोधका कार्यक्रम गर्न निषेध गरिएको जनाएको छ।

काठमाडौँ– ललितपुर प्रशासनले ललितपुर महानगरपालिका– ३ पुलचोक क्षेत्रलाई निषेधित घोषणा गरेको छ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले पुल्चोकस्थित यूएन हाउस र मन्त्रीनिवास क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यो क्षेत्रलाई निषेधित घोषित गरिएको बताएका छन्। 

ललितपुर प्रशासनका अनुसार पुल्चोकमा मंसिर ५ देखि आगामी ६ महिना विरोधका कार्यक्रम गर्न पाइने छैन। निषेधित क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन तथा विरोधका कार्यक्रम गर्न निषेध गरिएको जनाइएको छ।

पूर्वतर्फ इनारमोड जाने मूलबाटो, पश्चिम राष्ट्रिय किताबखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय तथा यूएन हाउस र दक्षिणतर्फ राष्ट्रिय मानवअधिकार आयोग एवं राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लाभित्र निषेध गरिएको प्रमुख जिल्ला अधिकारी पण्डितले जारी गरेको आदेशमा भनिएको छ। 

यसअघि सोमबार काठमाडौँ प्रशासनले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई निषेधित घोषित गरेको थियो। मंसिर ७ गते गणतन्त्र विरोध अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रदर्शन गर्ने बताउँदै आएका छन्।

नेकपा एमालेनिकट युवा संघ नेपालले पनि सोही दिन प्रदर्शन गर्ने तयारी गरेपछि काठमाडौँ उपत्यका जिल्लाहरूमा सुरक्षा संवेदनशीलता भन्दै निषेधको आदेश जारी हुन थालेको हो।