कतारमाथि इक्वेडरका ८ खेलाडी किनेको आरोप!

विश्वकप आयोजक राष्ट्र कतारमाथि खेलाडी किनेको आरोप लागेको छ। कतारले म्याच फिक्सिङ गर्न विपक्षी खेलाडीलाई रकम दिएको ब्रिटिश मिडल इस्ट सेन्टर फर स्टडिज एन्ड रिसर्चका क्षेत्रीय निर्देशक अमजद ताहाको दाबी छ

काठमाडौं– २२औँ संस्करणको कतार फिफा विश्वकप शुरू हुन अब एक दिन मात्र बाँकी छ। र, विश्वकप शुरू हुनुअघि नै मैदानमा फरक किसिमको खेल शुरू भएको छ। आयोजक राष्ट्र कतारले म्याच फिक्सिङको आरोपको सामना गरिरहेको छ। कतारले आफ्नो पहिलो खेलको प्रतिद्वन्द्वी इक्वेडरसँग म्याच फिक्सिङ गरेको आरोप लागेको हो।

ब्रिटिश मिडल इस्ट सेन्टर फर स्टडिज एन्ड रिसर्चका क्षेत्रीय निर्देशक अमजद ताहाका अनुसार कतारले म्याच फिक्सिङ गर्न विपक्षी खेलाडीलाई रकम दिएको हो।

ताहा र अन्य आन्तरिक स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार कतारले इक्वेडरका ८ खेलाडीलाई प्रतियोगिताको उद्घाटन खेल हार्नका लागि करिब ६० करोड रुपैयाँ तिरेको छ। ताहाको दाबी छ, "यो खेल कतारले १–० ले जित्ने छ र खेलको एक मात्र गोल दोस्रो हाफमा हुने छ।"

फिफाले विश्वकपमा म्याच फिक्सिङ रोक्न एफबीआईको सहयोग लिएको छ। म्याच फिक्सिङ रोक्न फिफाले पहिलो पटक टास्क फोर्स बनाएको हो। यसमा स्पोर्ट्स रडार, सट्टेबाजी बजार अनुगमन गर्ने अन्तर्राष्ट्रिय फर्म, इन्टरपोल, इन्टरनेशनल बेटिङ इन्टिग्रिटी एसोसिएसन र एफबीआई सहभागी छन्। उनीहरूले हरेक खेलको अनुगमन गर्ने छन्। विश्वकप अवधिभर विश्वका विभिन्न देशहरूमा सय अर्ब डलरभन्दा बढीको सट्टेबाजी हुने अनुमान छ।

यो टास्क फोर्सले गोलदेखि पहेँलो कार्डसम्मका अनियमिततामा नजर राख्नेछ। यस वर्ष करिब ६ सय खेलहरू भएका छन्, जसमा सट्टेबाजी हुने गरेको स्पोर्ट्स रडारले जनाएको छ। धेरै जसो शंकास्पद खेलहरू साना लिगका हुन्।

२२औँ संस्करणको उद्घाटन खेलमा आइतबार आयोजक राष्ट्र कतार र इक्वेडर भिड्दै छन्। खेल नेपाली समयानुसार राति ९:४५ बाट शुरू हुने छ।