७ दिनभित्र सडक बत्तीको मिटर जडान र बक्यौता महसुल तिर्न प्राधिकरणको निर्देशन

सडक बत्तीको बक्यौता विद्युत् महसुल भुक्तानी गर्न र मिटर जडान नगरेको स्थानमा जडान गर्न प्राधिकरणले स्थानीय तहहरूलाई निर्देशन दिएको छ। 

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले तत्काल सडक बत्तीको मिटर जडान तथा बक्यौता महसुल भुक्तानी गर्न स्थानीय तहहरूलाई निर्देशन दिएको छ। 

सडक बत्तीबापत विद्युत् उपभोग गरेको बक्यौता विद्युत् महसुल भुक्तानी गर्न र बिना मिटर विद्युत् उपभोग गरेको सडक बत्तीको मिटर जडान गर्न निर्देशन दिएको हो। 

मिटर जडान गर्न बाँकी रहेका सडक बत्तीको सात दिनभित्र मिटर जडान गरी राई ग्राहक कायम गराउनु पर्नेछ।  उक्त समयभित्र ग्राहक नबनेमा बिना मिटरका बत्तीहरू हटाउने प्राधिकरणको चेतावनी छ। 

“सात दिनभित्र सडक बत्तीका लागि मिटर लिई ग्राहक नबनेमा त्यस्ता बिना मिटरका सडक बत्तीहरू हटाइनेछ,” प्राधिकरणले बुधबार सूचना जारी गर्दै भनेको छ, “सडक बत्तीको बक्यौता महसुल नबुझाउने स्थानीय निकायको हकमा महसुल संकलन विनियमावली २०७८ को विनियम १० को प्रावधान बमोजिम कारबाही हुनेछ।”

प्राधिकरणले यसअघि गत असोज २१ गते ४५ दिने सूचना जारी गर्दै सम्बन्धित स्थानीय तहको ध्यानाकर्षण गराएको थियो।