मानव अधिकार आयोगले मंसिर ७ को जनप्रदर्शन अनुगमन गर्ने

आयोगका अध्यक्ष तपबहादुर मगरले जनप्रदर्शनको निरीक्षण गर्न मानव अधिकार आयोगले विभिन्न स्थानमा टोली खटाउने बताए।

काठमाडाैँ– राष्ट्रिय मानव अधिकार आयोगले मंसिर ७ गते हुने जनप्रदर्शनको अनुगमन गर्ने भएको छ।

बुधवार स्वतन्त्र कानून व्यवसायी मञ्चद्वारा मंसिर ७ गते व्यवसायी दुर्गा प्रसाईं र महेश बस्नेतको घोषित कार्यक्रममा हुनसक्ने सम्भावित घटनाको निरीक्षण गर्न मानव अधिकार अयोगलाई बुझाएको ज्ञापनपत्र ग्रहण गरेसँगै आयोगका अध्यक्ष तपबहादुर मगरले यस्तो बताएका हुन्। उनले जनप्रदर्शनको निरीक्षण गर्न मानव अधिकार आयोगले विभाग अन्तर्गतका टोलीलाई विभिन्न स्थानमा खटाउने बताए। कसैले पनि आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन् गर्न नहुने भन्दै उनले कुनै पनि किसिमबाट हिंसा भड्किन नदिन आयोगबाट सक्दो पहल गर्ने उल्लेख गरे।

उनले भने, "कसैले पनि आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन् गर्नु हुँदैन। त्यो अनुसार हामी अघि बढ्नुपर्छ। अब कुनै किसिमबाट हिंसा भड्किन गयो भने हामी त्यसमा शतर्क छौँ। हुन नदिनेतिर हामी लाग्छौँ। सम्बन्धित निकायलाई आह्वान गर्दछौँ, सम्बन्धित निकायलाई सक्रिय बनाउँछौँ। जे कुरा पनि शान्तिपूर्ण हुनुपर्छ।"

अध्यक्ष मगरले आयोगले गर्नुपर्ने मानव अधिकार संरक्षण, संवर्द्धन, प्रवर्द्धनमा आफूहरू लागिपरेको भन्दै आयोगको टोली आफ्नो लोगो लगाएर अनुगमनमा जाने बताए।