सत्तारूढ गठबन्धनले सरकार छोड्नुपर्छ: ओली

ओलीले अप्ठ्यारो परिस्थितिमा प्रतिगामी तत्त्वहरू सल्बलाएकाले देशलाई सही बाटोमा ल्याउने काम एमालेले मात्रै गर्न सक्ने दाबी गरे।

काठमाडाैँ– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनले सरकार छोड्नुपर्ने बताएका छन्।

मुलुकलाई प्रतिगमनतर्फ जानका लागि अनुकूल वातावरण बनाएकाले सत्तारूढ गठबन्धनले सरकार छोड्नुपर्ने ओलीको जिकिर थियो। उनले बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै सरकारले प्रतिगामी शक्तिहरूलाई हौसला प्रदान गर्ने नालायकीपन देखाइरहेको उल्लेख गर्दै आफ्नो पार्टीलाई त्यस्ता खालका गतिविधि स्वीकार्य नहुने चेतावनी पनि दिए।

ओलीले वर्तमान सरकारले मुलुकको अर्थतन्त्रलाई सकारात्मक बाटोमा फर्काउने सम्भावना नरहेको भन्दै अप्ठ्यारो परिस्थितिमा प्रतिगामी तत्त्वहरू सल्बलाएकाले देशलाई सही बाटोमा ल्याउने काम एमालेले मात्रै गर्न सक्ने दाबी गरे।

उनले भने, "अहिलेको सरकारको यो निकम्मापन, जसले प्रतिगमनतर्फ जानका लागि अनुकूल वातावरण सृजना गर्ने र प्रतिगामी शक्तिहरूलाई हौसला प्रदान गर्ने काम गरेको छ। त्यो नालायकी स्वीकार्य हुन सक्दैन। कि उपयुक्त ढंगले सरकार चलाउनु पर्छ। होइन भने सरकार छोड्नुपर्छ।" 

अध्यक्ष ओलीले सत्तारूढ गठबन्धनको सत्ता स्वार्थका कारण मुलुकको स्वाधिनता सबैभन्दा अपहेलित, अपमानित र तिरस्कृत हुने पुगेको बताए। वर्तमान सरकारले मुलुकको असंलग्नता र तटस्थतासम्बन्धी परराष्ट्र नीति पनि धरापमा पारेको ओलीको आरोप थियो।

"अहिले हाम्रो असंलग्नता धरापमा परेको छ। हाम्रो तटस्थता धरापमा परेको छ। अहिले स्वाधिनता अपहेलित, अपमानित, तिरस्कृत भएको जस्तो छ। यो अवस्था राष्ट्रका लागि शोभनीय र सम्मानजनक होइन। अढाई वर्षको बीचमा यो परिस्थिति निर्माण भएको छ। र, यी अढाई वर्षहरूमा देश राष्ट्रिय सार्वभौमसत्ता, स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हितहरू र राष्ट्रिय गौरव र सम्मानका हिसाबले लामो समययता यस्तो कमजोर भएको थिएन। अहिले यो अढाई वर्षमा कमजोर भएको छ," उनले भने।

उनले यस्ता कुराहरूले नेपाललाई अप्ठ्यारो भविष्यतर्फ धकेल्न सक्ने खतराहरू पैदा भएका बताए। त्यस अवसरमा अध्यक्ष ओलीले वामपन्थी एकतामा भन्दा एमालेलाई सुदृढ राष्ट्रिय शक्ति बनाउने काममा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई सचेत पनि गराए।