नेप्से परिसूचकमा दोहोरो अंकको सुधार

बुधबार नेप्से परिसूचक २०.६७ अंकले बढेर १८५०.३३ अंकमा कायम भएको छ। 

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ। बुधबार नेप्से परिसूचक २०.६७ अंकले बढेर १८५०.३३ अंकमा कायम भएको हो। 

बुधबार २९४ कम्पनीको ४२ लाख १३ हजार २८५ कित्ता शेयर ४३ हजार ५८३ पटक खरिदबिक्री हुँदा एक अर्ब आठ करोड ७० लाख ९८ हजार ४९५ रुपैयाँ बराबरको कारोबार भएको छ। म्युचुअल समूहको उपसूचक ०.०३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै होटल तथा पर्यटन समूह ३.४९ र जलविद्युत् समूह २.३६ प्रतिशतले बढेको छ। बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ।

सबैभन्दा धेरै घट्नेमा भने सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ८.१५ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको १० करोड ७६ लाख तीन हजार ९८३ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने प्राइम कमर्सियल बैंक प्रमोटर शेयर आठ लाख ५० हजार १० कित्ता कारोबार भएको छ।