पतञ्जलीलाई आफ्ना भ्रामक विज्ञापन रोक्न भारतीय सर्वोच्च अदालतको चेतावनी

पतञ्जलीले आफूले बनाएको कोभिड १९ को औषधिलाई लिएर भ्रामक विज्ञापन गरेको इन्डियन मेडिकल एसोसियसन (आईएमए)को आरोप छ।

भारतको सर्वोच्च अदालतले योगी रामदेवको कम्पनी पतञ्जलीलाई झुटा र भ्रामक विज्ञापन नगर्न सचेत गराएको छ। पतञ्जलीले गरेको एलोपेथिक औषधिको भ्रामक विज्ञापनलाई लिएर अदालतले चेतावनी दिएको हो। न्यायाधीशद्वय अहसानुद्दिन अमानुल्लाह र प्रशान्त कुमार मिश्राको इजलासले पतञ्जलीलाई अबदेखि यस्ता विज्ञापन नगर्न सचेत गराउँदै यदि विज्ञापन जारी राखे प्रति विज्ञापन एक करोड भारु जरिबाना लगाउने चेतावनीसमेत दिएको छ।

यस्तै आफ्ना औषधिका भ्रामक विज्ञापनलाई लिएर मिडियाबाजी नगर्न पनि अदालतले पतञ्जलीलाई सचेत गराएको छ। यसका साथै आयुर्वेदिक औषधिलाई 'एलोप्याथीकरण' नगर्न पनि निर्देशन दिएको छ। 

गत फेब्रुअरीमा इन्डियन मेडिकल एसोसियसन (आईएमए)ले पतञ्जलीविरुद्ध दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ गर्दै अदालतले यस्तो निर्देशन दिएको हो। पतञ्जलीले आफूले बनाएको कोभिड १९ को औषधि कोरोनिल तथा स्वसारीलाई लिएर भ्रामक विज्ञापन गरेको आईएमएको आरोप छ। उक्त निवेदनमा पतञ्जलीको भ्रामक विज्ञापनका कारण एलोपेथिक औषधिलाई मानिसहरूले उपेक्षा गर्न थालेको उल्लेख छ। 

यस्तै भारतीय सञ्चार माध्यमका अनुसार रामदेवले कोरोनापछि क्यान्सरका बिरामी बढेको बताउँदै आएका थिए। रिट निवेदनमा आईएमएले पतञ्जली तथा रामदेवको उक्त दाबी प्रमाणित नभएको र 'ड्रग्स एन्ड म्याजिक रिमेडिज एक्ट १९५४' र उपभोक्ता संरक्षण ऐन २०१९ जस्ता कानूनको प्रत्यक्ष उल्लंघन भएको आरोप लगाएको छ।

अदालतले केन्द्र सरकारलाई यस विषयमा परामर्शपछि उपयुक्त सुझाव दिन पनि भनेको छ। यस मुद्दामा अर्को  सुनुवाई २०२४ फेब्रुअरी ५ को लागि तोकिएको छ।