ओपन एआईमा अल्टम्यानको पुनर्बहाली

दुई पक्षबीच समझदारीपछि साम अल्टम्यान पुनः आफ्नो पुरानै पदमा फर्किएका ओपन एआईले जनाएको छ। ओपन एआईले सञ्चालक समिति पनि हेरफेर गरेको छ।

च्याट जीपीटी निर्माता कम्पनी ओपन एआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यान पदमा पुनर्बहाली भएका छन्।

गएको शुक्रबार कम्पनीको सञ्चालक समिति (बोर्ड अफ डाइरेक्टर)ले उनलाई पदबाट बर्खास्त गरेको थियो। त्यसपछि कम्पनीमा निकै उथलपुथल आयो। पाँच सय भन्दा धेरै कर्मचारीले अल्टम्यानलाई फिर्ता नबोलाए राजीनामा दिने धम्की पनि दिए। त्यो बीच अल्टम्यान माइक्रोसफ्ट कम्पनीमा जाने खबर पनि बाहिरिए। तर अन्त्यमा उनी ओपन एआईको सीईओमै पुनरागमन गरेका छन्। 

दुई पक्षबीच समझदारीपछि साम अल्टम्यान पुनः आफ्नो पुरानै पदमा फर्किएका ओपन एआईले जनाएको छ। ओपन एआईले सञ्चालक समिति हेरफेर गरेको छ। कम्पनीको नयाँ सञ्चालक समितिका अध्यक्ष सेल्सफोर्सका  पूर्व–सीईओ टेलर छन्। अन्य दुई सदस्यमा ल्यारी समर्स र क्वराका सीईओ एडम डी’एन्जेलो छन्। यसअघिको सञ्चालक समितिबाट नयाँ समितिमा पर्ने डी’एन्जेलो एक मात्रै सदस्य हुन्।

पुरानो सञ्चालक समितिले अल्टम्यानलाई निकालेपछि राजिनामा दिएका कम्पनीका सह–संस्थापक ग्रेग ब्रोकम्यान पनि कम्पनीमै फर्किने भएका छन्। ओपनएआईका सयौं कर्मचारीहरूले अल्टम्यान र ब्रोकम्यानलाई कम्पनीमा नल्याएदेखि राजीनामा दिएर माइक्रोसफ्टमा जाने धम्की दिएपछि उनीहरूलाई फिर्ता ल्याउन कम्पनी बाध्य भएको हो।

अल्टम्यानले आफूले ओपन एआईलाई माया गर्ने भन्दै विगत केही दिनयता कम्पनीसँगको सम्बन्ध सुधारमा लागेको बताएका छन्। उनले आइतबार साँझ माइक्रोसफ्टमा जाने निर्णय गरको र उक्त निर्णय आफ्नो र टिमको लागि राम्रो भएको भन्दै अबका दिनमा ओपन एआईले माइक्रोसफ्टसँग सहकार्य गर्दै अघि बढ्ने बताएका छन्।