स्थानीय मिलेर थालेको श्रमदान अभियानमा प्रवासीले पनि सहयोग गरेका छन्। पदमार्ग निर्माणका लागि १३ लाख रुपैयाँभन्दा बढी नगद सहयोग जुटिसकेको छ।
बेनी– घना जंगलको साँघुरो बाटो। गाउँदेखि सडकसम्म पुग्न सास्ती खेप्नुपर्ने बाध्यता। घाँस दाउरा गर्न कठिन त छँदै थियो। दिवंगत भएका व्यक्तिलाई कालीगण्डकी नदीको घाटसम्म पुर्याउनसमेत थियो।
म्याग्दीको रघुगंगा गाउँपालिका–२ माछखर्कदेखि कुनौटाघाट जोड्ने यो जीर्ण गोरेटोबाटोको स्वरूप अहिले फेरिँदै छ। बेनी–जोमसोम सडकखण्डमा पर्ने कुनौटादेखि माछखर्क जोड्ने गोरेटो बाटोमा श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग निर्माण हुन थालेपछि पुरानो साँघुरो र जीर्ण बाटो चिटिक्क र सहज बन्न थालेको हो।
गत असोजको तेस्रो सातादेखि पदमार्ग निर्माण शुरू भएको थियो। स्थानीय मिलेर थालेको श्रमदान अभियानमा प्रवासीले पनि सहयोग गरेका छन्। पदमार्ग निर्माणका लागि १३ लाख रुपैयाँभन्दा बढी नगद सहयोग जुटिसकेको स्थानीय बालकृष्ण कटुवालले बताए।
“सरकारी तवरबाट बजेट परेर बाटो मर्मत गर्ने प्रयासले सार्थकता नपाएपछि हामीले श्रमदान अभियानबाट केही अप्ठेरो ठाउँमा पक्की पदमार्ग बनाउन शुरू गरेका हौँ,” उनले भने। यो योजनालाई सरकारी तवरको कुनै बजेट बिनै समुदायको साथ, सहयोग र सहकार्यको नमुना कार्यको रूपमा स्थानीयले पूर्णता: दिने जमर्को गरेका छन्। पदमार्ग बनाउन स्थानीयवासीले एक दिनदेखि २० दिनसम्म श्रमदान गरेका छन्। अहिलेसम्म एक किलोमिटर पक्की पदमार्ग निर्माण भइसकेको छ।
माछखर्कको च्युरीबाससम्म पदमार्ग निर्माण गर्न अझै एक किलोमिटर पदमार्ग बनाउनुपर्ने छ। बिहानदेखि साँझसम्म नै पदमार्ग बनाउने काम भइरहेको छ। सडकबाट गिट्टी बालुवा र सिमेन्ट उकालो र जंगलको बाटोमा बोकेर स्थानीय युवा पदमार्ग बनाउन व्यस्त बनेका छन्। दशैँ र तिहारको केही दिनबाहेक अन्य सबै दिनमा स्थानीय युवा पदमार्ग बनाउने काममै लागेका छन्।
भगवतीका विभिन्न बस्तीका सहयोगदाताले आफ्नो दिवंगत आफन्तको सम्झनामा पदमार्ग बनाउन स्वतःस्फूर्त सहयोग गर्ने क्रम जारी रहेको पदमार्ग निर्माण समितिका संयोजक भगवान् केसीले बताए। “शुरूमा श्रमदानबाटै पदमार्ग बनाउन थाल्यौँ, अहिले विभिन्न व्यक्तिले सहयोग गरिरहनुभएको छ,” उनले भने, “सबैको साथ, सहयोग, सहकार्य र समर्पणको भावनाले यो पदमार्गले पूर्णता पाउने निश्चित भएको छ।”
भिरालो पाखोमा बनाइएको परम्परागत गोरेटो बाटोको सिँढी भत्किएको, झाडीले ढाकिएको र पानी परेको समयमा चिप्लिएर लड्ने समस्या रहेकामा पदमार्ग निर्माण भएपछि स्थानीयवासीलाई सहज हुने उनको भनाइ छ। मंसिरभित्र कुनौटादेखि च्युरीबास खण्डमा चिटिक्कको पक्की पदमार्ग निर्माण गर्ने लक्ष्य छ।
जंगलमा झाडी फँडानी गरेर ढुंगा, सिमेन्ट, बालुवा र गिट्टीको बन्दोबस्त मिलाएर पदमार्गलाई ढलान नै गरेर पक्की बनाइएको छ। आवतजावत गर्न सहज हुने गरी पदमार्गलाई १.५ मिटर फराकिलो बनाइएको छ। पदमार्गमा २२ दिनदेखि काम गरिरहेका ५६ वर्षीय प्रेमबहादुर कटुवालले पुन्यकर्ममा सहभागी भएको अनुभूति हुने गरेको सुनाए। “काम त घरमा बसे पनि गर्छौँ, तर यहाँ आएर पदमार्गमा पसिना बगाउँदा छुट्टै आनन्द मिलेको छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
