काठमाडौँमा युवा संघ र दुर्गा प्रसाईं समूहले छुट्टाछुट्टै प्रदर्शन गर्दै, सुरक्षा व्यवस्था कडा

प्रसाईंको समूहले भक्तपुरको सानोठिमी, गोंगबु चोक, स्वयम्भु, कलंकी, जावलाखेल, सातदोबाटो, कीर्तिपुर र चाबहिलबाट र्‍याली निकाल्ने जनाएको छ। युवा संघको जुलुस भक्तपुरको सल्लाघारीबाट शुरू हुनेछ।

चबहिल चोकमा खटिएका सुरक्षाकर्मी। तस्वीर: दिपा दाहाल/उकालो

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट युवा संघ र व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ले बिहीबार काठमाडौँमा छुट्टाछुट्टै प्रदर्शन गर्दैछन्। 

काठमाडौँ जिल्ला प्रशासनले युवा संघका लागि तीनकुनेमा र प्रसाईंका लागि बल्खुमा कार्यक्रमस्थल तोकेको छ। यसअघि दुवै समूहले काठमाडौँको माइतीघरमा प्रदर्शन गर्ने जनाए पनि प्रशासनले उक्त क्षेत्रमा निषेधाज्ञा लगाएपछि फरक स्थानमा कार्यक्रम हुन लागेको हो। 

त्यसअघि विभिन्न स्थानबाट जुलुस निस्किने छ। प्रसाईंको समूहले भक्तपुरको सानोठिमी, गोंगबु चोक, स्वयम्भु, कलंकी, जावलाखेल, सातदोबाटो, कीर्तिपुर र चाबहिलबाट र्‍याली निकाल्ने जनाएको छ। उता, युवा संघको जुलुस भक्तपुरको सल्लाघारीबाट तिनकुने आउने छ।

यसैबीच, प्रदर्शनलाई लक्षित गरी काठमाडौँ उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको प्रहरीले जनाएको छ। प्रदर्शनमा घुसपैठ हुन सक्ने र अप्रिय घटना हुन सक्ने सम्भावनालाई विश्लेषण गर्दै एकीकृत विशेष सुरक्षा योजना लागू गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए।

उनका अनुसार सुरक्षाकर्मीलाई परिचालन गर्न डीआईजी लालमणि आचार्यको नेतृत्वमा कमान्ड सेन्टर खडा गरिएको छ। बिहानैदेखि काठमाडौँका चोक–चोकमा हतियारसहितका सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रदर्शनकारी बसेका स्थानमा पनि सादा पोशाकसहितका सुरक्षाकर्मी खटिएका छन्। बल्खु र तिनकुने क्षेत्र वरपर ड्रोनबाट पनि निगरानी गर्ने तयारी छ।