काठमाडौँका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति (तस्वीरहरू)

बिहानैदेखि काठमाडौँका चोक–चोकमा हतियारसहितका सुरक्षाकर्मी परिचालन गरिएको छ। सादा पोशाकसहितका प्रहरी पनि खटिएका छन्।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा खटिएका सुरक्षाकर्मी। तस्वीरहरू: दिपा दाहाल र बीपी अनमोल/उकालो

काठमाडौँ– काठमाडौँमा बिहीबार हुने विरोध प्रदर्शनलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ। सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। 

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ र व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ले छुट्टाछुट्टै कार्यक्रम गर्दैछन्। युवा संघले काठमाडौँको तीनकुनेमा र बल्खुमा  प्रसाईं नेतृत्वको समूहले कार्यक्रम गर्ने प्रहरीले जनाएको छ। 

प्रदर्शनको सुरक्षाका एकीकृत सुरक्षा योजना बनाएर लागु गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए। काठमाडौँ उपत्यका भित्रिने साँगा, थानकोटलगायत नाकामा प्रहरीले प्रत्येक सवारीलाई रोकेर खानतलासी गरिरहेको छ।

तीनकुने क्षेत्रमा महेश बस्नेतसहित कार्यक्रता भेला हुने क्रम जारी छ। मध्यपुरथिमिस्थित दुर्गा प्रसाईंको निवास वरपर पनि सुरक्षाकर्मी तैनाथ छन्। बिहान १० बजेसम्म आवगमन भने सहज नै छ।