गंगाजमुनामा ऐतिहासिक मेला, कुकुर धारामा नुहाउनेको घुइँचो

धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुनामा हरेक वर्ष हरिबोधिनी एकादशीको दिन लाग्छ। गंगाजमुना गाउँपालिकाको नाम पनि यही मेलाको नामबाट राखिएको हो।

मलेखु– धादिङको गंगाजमुना झरना धार्मिक तथा पर्यटकीयस्थल हो। यस झरनामा वर्षौँदेखि लाग्दै आएको मेलाको रौनक अहिले पनि घटेको छैन।

देशका थुप्रै जिल्लाबाट यो मेला हेर्न र गंगाजमुना माईको दर्शन गर्न उल्लेख्य संख्यामा तीर्थयात्री आउने गर्छन्।

धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुनामा हरेक वर्ष हरिबोधिनी एकादशीको दिन लाग्छ। गंगाजमुना गाउँपालिकाको नाम पनि यही मेलाको नामबाट राखिएको हो। बिहानैदेखि झरनाको फेदीमा जम्मा भएका भक्तजनले बिहान त्यहीँ स्नान गरी पूजाआजा गरेका छन्।

करिब एक हजार ३०० वर्ष अगाडि गंगा र जमुना नाम गरेका दुई छोरी बेपत्ता भएको र परिवारले खोज्दै जाँदा गुफाभित्रबाट ‘हामी यही सुरक्षित छौँ, हाम्रो यहीँ पूजापाठ गर्नुहोला’ भनेपछि हरेक वर्ष गंगाजमुना माईको मेला शुरू भएको किम्बदन्ती छ।

गंगाजमुना गाउँपालिका–५ ढाँडखर्कमा रहेको पहराको टुप्पोबाट खस्ने गंगा र जमुना नामका दुई झरना छन्। ३०० मिटर माथिबाट झर्ने यो झरनामा नुहाएर मनले चिताएको पूरा होस् भनेर आशीर्वाद माग्ने चलन छ। झरना झरेको पहराबीचमा रहेको मन्दिरमा गएर महादेवको पूजाआजा गरिन्छ।

एकादशीको दिन बिहान छहरामा स्नान गरी डोली तार्ने, बत्ती सेलाउने र दर्शन गरी फर्किने चलन छ। गंगाजमुनाको दर्शन गर्दा मनले चिताएको पूरा हुने जनविश्वास रहिआएको छ। 

गंगाजमुना झरनासँगै रहेको कुकुर धारोमा  नुहाउनेको घुइँचो लागेको गाउँपालिका अध्यक्ष भक्तबहादुर लामाले बताए। कुकुर वा अन्य कुनै जनावरले टोकेमा त्यसको दोष निवारणका लागि  कुकुर धारोमा नुहाउने चलन रहेको उनको भनाइ छ। मेला भर्न धादिङका विभिन्न स्थानका साथै छिमेकी जिल्ला रसुवा, नुवाकोट, चितवन, गोर्खा, तनहुँ, कास्की, काठमाडौँलगायत ठाउँबाट भक्तजन आउने गर्छन्। 

“एकादशीको राति झाँक्री नाचको रौनक अझ छुट्टै हुन्छ। भाकल बुझाउन वा दर्शन गर्न आउनेले रातभर आ–आफ्नो वेशभूषा र पहिरनअनुसारको कला देखाउँछन्,” स्थानीय सिंहबहादुर तामाङले भने, “बिहान झरनामा स्नान गरी पूजापाठ गरेर फर्किन्छन्।” 

यो मेला धादिङको गंगाजमुना गाउँपालिकास्थित फूलखर्कमा छ। यहाँबाट घाम अस्ताएको र उदाएको दृश्य निकै रोमाञ्चक देखिन्छ। जात्रामा स्थानीय सरकारले नै हरेक वर्ष रात्रिकालीन सांगीतिक कार्यक्रम आयोजना गर्दै आएको छ। लङ्गुरबुर्जा खेल यहाँको रात्रिकालीन जात्राको विशेषता हो।

हरिबोधनी एकादशीमा भगवान् विष्णु एवं नारायणको पूजा हुने गरे पनि यहाँ भने महादेवको पूजा हुने गरेको छ। धार्मिक तथा पर्यटकीय हिसाबले महत्त्वपूर्ण र आकर्षक भए पनि त्यस ठाउँसम्म पुग्न सडकको असुविधा छ।

सडकको सुविधा हुन सके विकट स्थानमा रहेको गंगाजमुना झरना आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्छ।