क्यानडेली नागरिकका लागि भारतीय ई–भिसा सुविधा पुनः शुरू

पछिल्लो समय दुई देशबीच चिसिँदै गएको विवादका कारण गत सेप्टेम्बरमा भारतले क्यानडेली नागरिकका लागि ई-भिसा सेवा बन्द गरेको थियो।

क्यानडास्थित भारतीय उच्चायोगले क्यानडाका योग्य नागरिकका लागि विद्युतीय (इलेक्ट्रोनिक) भिसा सेवा पुनः शुरू गरेको छ। 

क्यानडास्थित भारतीय उच्चायोगले बुधबार जारी गरेको सूचनामा भनिएको छ, “नियमित/साधारण क्यानडेली राहदानी भएका सबै योग्य नागरिकका लागि २२ नोभेम्बर २०२३ देखि भारतीय इलेक्ट्रोनिक भिसा सुविधा पुनर्स्थापित गरिएको छ।”

टोरन्टोस्थित भारतीय महावाणिज्य दूतावास र भ्यानकुभरस्थित भारतीय महावाणिज्य दूतावासले भनेको छ, “विद्यमान प्रावधानहरू अनुसार क्यानडाको राहदानीको अन्य कुनै पनि श्रेणीका धारकहरूले नियमित कागजी भिसाको लागि आवेदन दिनुपर्नेछ। विवरणहरू भारतीय उच्चायोग, ओटावाको सम्बन्धित वेबसाइटहरूमा फेला पार्न सकिन्छ।”

भारत र क्यानडाबीच कूटनीतिक विवाद चलिरहेकै बेला ई–भिसा सेवा पुनः सञ्चालन गर्ने निर्णय भएको हो। भारतीय घरेलु प्रविधि–सक्षम  सेवा प्रदायक निकाय (बिएलएस इन्टरनेसनल)का अनुसार गत सेप्टेम्बरमा क्यानडास्थित भारतीय नियोगले अर्को सूचना जारी नभएसम्मका लागि भिसा सेवा स्थगन गरेको थियो। बीएलएस इन्टरनेसनल सर्भिसेस लिमिटेड विश्वव्यापी रूपमा सरकारी र कूटनीतिक नियोगहरूको लागि एक भारतीय ‘आउटसोर्सिङ’ सेवा प्रदायक हो। कम्पनीले भिसा, राहदानी, कन्सुलर, प्रमाणीकरण र नागरिक सेवाहरूको व्यवस्थापन गर्दछ।

भारतीय नियोगको सूचना अनुसार सन् २०२३ को सेप्टेम्बर २१ देखि लागू हुने गरी क्यानडेलीको लागि भारतीय भिसा सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको थियो। यद्यपि, अक्टोबरमा, भारतले सुरक्षा स्थितिको पुनरावलोकन पछि क्यानाडामा चार श्रेणीका लागि भिसा सेवाहरू पुनः शुरू गर्ने निर्णय गरेको थियो। प्रवेश भिसा, व्यापारिक भिसा, मेडिकल भिसा र सम्मेलन भिसा गरी चार वर्गमा भारतले अक्टोबर २६ देखि क्यानडामा भिसा सेवा पुनः शुरू गर्ने निर्णय गरेको थियो। 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यसै वर्षको शुरूमा क्यानाडाको भूमिमा खालिस्तानी हरदीप सिंह निज्जर (जसलाई भारत सरकारले आतंकवादी समूहको सदस्यका रूपमा चिन्छ)को हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएपछि भारत र क्यानडाबीचको सम्बन्ध तनावपूर्ण बनेको थियो। गत जुन १८ मा क्यानडाको सरेस्थित गुरुद्वाराबाहिर निज्जरको गोली हानी हत्या गरिएको थियो।