कात्तिकमा आयात–निर्यात दुवै घट्यो

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिकमा ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको आयात भएको छ।

काठमाडौँ– गत असोजमा आयातमा केही वृद्धि देखिए पनि कात्तिकमा आइपुग्दा भने घटेको छ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिकमा ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको आयात भएको छ।

यो अघिल्लो वर्षको सोही अवधिको भन्दा ३.७९ प्रतिशतले कमी हो। गत आर्थिक वर्षको कात्तिकसम्म ५ खर्ब ३२ अर्ब ६९ करोडको आयात भएको विभागको तथ्याकं छ।

असोजसम्ममा भने गत वर्षको सोही अवधिको तुलनामा आयात १.६९ प्रतिशतले बढेर ४ खर्ब ७ अर्ब रुपैयाँ पुगेको थियो।

गत साउनदेखि मासिक रूपमा आयात बढ्दैगइरहेको बेला कात्तिकमा भने घटेको छ। असोजमा एक खर्ब ४८ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको थियो। कात्तिकमा आइपुग्दा भने १ खर्ब ४ अर्ब रुपैयाँ आयात भएको विभागको तथ्यांक छ।

यो अवधिमा निर्यात पनि घटेको छ। साउनदेखि कात्तिकसम्म ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँ निर्यात भएको छ। जुन गत आर्थिक वर्षको भन्दा ७.६८ प्रतिशतले कम हो। गत आर्थिक वर्ष ४ महिनामा ५४ अर्ब ७७ करोडको निर्यात भएको थियो । 

आयात घट्दा व्यापार घाटामा भने कमी आएको छ। गएको ४ महिनामा मुलुकको व्यापार घाटा ४ खर्ब ६१ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा ३.३४ प्रतिशतले कम हो।