राष्ट्रियसभाको निर्वाचन माघ ११ गते तोक्न प्रस्ताव

आयोगले राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ सदस्य पदको प्रत्येक दुई वर्षमा निर्वाचन गर्दै आएको छ।

काठमाडौँ– निर्वाचन आयोगले माघको दोस्रो साता राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तोक्न सरकारलाई परामर्श दिएको छ।

आवश्यक तयारी र परिणाम प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने समयसमेतलाई मध्यनजर गरी माघ ११ गते बिहीबारका दिन निर्वाचन गर्ने गरी मिति तोक्न सरकारलाई परामर्श दिइएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

उनका अनुसार आयोगले गरेको निर्णयबमोजिम बिहीबार पदाधिकारीहरूले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष निर्वाचनको मिति तोक्ने प्रस्ताव पेस गरेका थिए। सो अवसरमा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्बाट आयोगले परामर्श दिएको मितिमा नै निर्वाचन गर्ने गरी निर्णय हुने ब्यहोरा जानकारी गराएको उनले जनाए।‍

आयोगले राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ सदस्य पदको प्रत्येक दुई वर्षमा निर्वाचन गर्दै आएको छ। संविधानको धारा ८६ को उपधारा (३) बमोजिम प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ (सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत सदस्य १ र निर्वाचित सदस्य १९ जना) सदस्यको फागुन २० मा पदावधि समाप्त हुँदै छ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम उक्त मितिभन्दा ३५ दिन पहिले नै निर्वाचन सम्पन्न गरिसक्नुपर्ने व्यवस्था रहेको छ। उक्त ऐनबमोजिम निर्वाचन आयोगको परामर्शमा सरकारले मिति तोक्ने व्यवस्था रहेको छ। सो व्यवस्थाबमोजिम कम्तिमा माघ १५ गतेसम्म रिक्त सदस्यको पद पूर्तिका लागि निर्वाचन सम्पन्न गर्नुपर्ने हुन्छ।