यी परिचयपत्रका आधारमा पनि गर्न पाइन्छ मतदान

फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पुर्जा, सवारी अनुमति पत्र वा राष्ट्रिय परिचयपत्रका माध्यमबाट मतदान गर्न सकिने आयोगले जनाएको छ।

काठमाडौं– निर्वाचन आयोगले मतदाता परिचयपत्रको विकल्पमा फोटो टाँसिएका अन्य सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने बताएको छ।

आयोगले मतदाता परिचयपत्र नभएको अवस्थामा आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा, सवारी अनुमति पत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एउटा परिचयपत्रका आधारमा मतदान गर्न सकिने जनाएको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता परिचयपत्र नभएकाले आयोगले तोकेबमोजिम आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पुर्जा, सवारी अनुमति पत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एउटा परिचयपत्र बोकेर जान सक्ने बताए।

उनले मतदाताले मतदानका लागि जाँदा मोबाइल, क्यामेरा, सलाई, लाइटरलगायतका कुनै पनि निषेधित वस्तुहरू बोक्न नहुने बताए। उनले निषेधित वस्तु मतदान केन्द्रमा लिएर गए जफत गर्ने चेतावनी दिए। उनले मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मी, कर्मचारी र मतदान अधिकृतले मतदाताका हरेक गतिविधिको निगरानी गरिरहेको हुनाले आयोगको आँखा छलेर अनावश्यक गतिविधि नगर्न सचेत गराए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले अरूको नाममा मत नहाल्न, दोहोर्‍याएर मत हाल्ने प्रयास नगर्न, आफ्नो मत अरूलाई हाल्न नदिन र मतपत्र लिँदा मतपत्रमा मतदान अधिकृतको दस्तखत भए/नभएको यकिन गर्न पनि आग्रह गरे। उनले मतदान गर्न आउने अशक्त, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, किरियापुत्री, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सहयोग गर्न र सबैभन्दा पहिला मतदान गर्ने व्यवस्था मिलाउन पनि सम्बन्धित पक्षसँग अनुरोध गरे।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा अनावश्यक होहल्ला नगर्न, भिडभाड नगर्न, कुनै पनि तर्क वितर्क नगर्न पनि सचेत गराए। उनले चारवटा मतपत्रमा स्वस्तिक छाप लगाएर चारवटा छुट्टै मतपेटिकामा मतदान गरिसकेपछि मतदानको कार्य सकिने भएकाले मतदान केन्द्रबाट बाहिरी निस्किएपछि आफ्नो सिधा वासस्थानतर्फ लाग्न पनि आग्रह गरे।