त्रिविका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्षको जेल सजाय

काठमाडौँ जिल्ला अदालतले त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद सजाय र २० हजार जरिबाना तिराउने फैसला सुनाएको छ। 

काठमाडौँ– काठमाडौँ जिल्ला अदालतले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमणका सात आरोपितमध्ये ६ जनालाई २ वर्ष कैद सजाय सुनाएको छ।

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार बिहीबार जिल्ला न्यायाधीश विनोद खतिवडाको इजलासले उपप्राध्यापक चलाउनेमाथि भएको आक्रमणका आरोपीमध्ये ६ जनालाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना हुने फैसला भएको हो भने एक जनाले सफाइ पाएका हुन्।

अदालतले आरोपीहरू हरिप्रसाद आचार्य, सचिव योगेन्द्र रावल, रूपेश साह, रवीन लामा, सयुज श्रेष्ठ, नीरज रानामगरलाई दुई वर्षको कैद सजाय सुनाएको हो। अर्का आरोपी दीपक ओझाले भने सफाइ पाएका छन्। सूचना अधिकारी दाहालले उनीहरूबाट पीडितलाई २८ लाख १७ हजार ५३९ रुपैयाँ क्षतिपूर्ति भराउने पनि आदेश भएको बताए।

उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय इकाई समितिका अध्यक्ष आचार्य तथा सचिव रावलसहितका सात जनाले विश्वविद्यालय परिसरमै आक्रमण गरी गम्भीर घाइते बनाएका थिए। उपप्राध्यापक चलाउनले उनीहरूविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए। चलाउने लामो समयको उपचारपछि मात्र हिँडडुल गर्न सक्ने भएका थिए।