दुर्गा प्रसाईं समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति दिइएको छैन: काठमाडौँ प्रशासन

बिहीबार बल्खुको प्रदर्शन सकिएपछि प्रसाईंले उत्तेजक, अराजक, हिंसात्मक, ध्वंसात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिएको प्रशासनको निष्कर्ष छ।

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुर्गा प्रसाईं समूहले तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिइएको बताएको छ। 

प्रसाईं समूहले शुक्रबार तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेपछि प्रशासनले विज्ञप्ति  जारी गर्दै उक्त समूहले तीनकुनेमा कार्यक्रम गर्न अनुमति नलिएको जनाएको हो। “स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी शुक्रबारदेखि काठमाडौँको तीनकुनेमा भेला भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने र शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेकोमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ, सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यसरी गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान गरिएको छैन।”

बिहीबार बल्खुको प्रदर्शन सकिएपछि प्रसाईंले शुक्रबारदेखि तीनकुनेमा प्रदर्शन गर्ने बताएका थिए। सो क्रममा उनले उत्तेजक, अराजक, हिंसात्मक, ध्वंसात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिएको प्रशासनको निष्कर्ष छ।

शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानूनविपरीत गतिविधि गरेमा कानून बमोजिम कारबाही गर्नेसमेत काठमाडौँ प्रशासनको चेतावनी छ।