तीनकुनेमा सर्वसाधारणमाथि धरपकडको विषयमा यसो भन्छन् काठमाडौँका सीडीओ

तीनकुनेमा सर्वसाधारणलाई प्रहरीले धरपकड गरेको भन्ने गुनासो आएपछि उनले भीडभाड गर्न नदिन र शान्ति व्यवस्था कायम गर्न केहीलाई नियन्त्रणमा लिएको बताए।

काठमाडौँ– काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जितेन्द्र बस्नेतले सुरक्षा व्यवस्था कायम गर्न तीनकुनेमा प्रहरी परिचालन गरेको बताएका छन्।

तीनकुनेमा सर्वसाधारणलाई प्रहरीले धरपकड गरेको भन्ने गुनासो आएपछि उनले भीडभाड गर्न नदिन र शान्ति व्यवस्था कायम गर्न केहीलाई नियन्त्रणमा लिएको बताए।

"हामीले प्रदर्शनको लागि अनुमति नदिएको ठाउँमा त्यसरी भीडभाड गरेपछि नियन्त्रण गर्ने प्रयास भएको हो," उनले भने, "सर्वसाधरणलाई पनि नियन्त्रणमा लिने निर्देशन होइन। जनजीविककाका लागि हिँडेकाहरूका लागि हामीले केही पनि गरेको छैन।"

दुर्गा प्रसाईंले शुक्रबार तीनकुनेमा प्रदर्शन गर्ने बताएका थिए। प्रशासनले छुट्याएको ठाउँ बल्खुमा नगएर तीनकुनेमा प्रदर्शन गर्नु गलत भएको सीडीओ बस्नेतको भनाइ छ। उनका अनुसार तीनकुनेमा प्रदर्शन गर्न प्रसाईं समूहलाई प्रशासनले अनुमति दिएको छैन।

उनले त्यहाँका होटलहरूमा धारिलो हतियार राखेको छ भन्ने सूचना आएपछि प्रहरीले जाँच गरेको बताए। उनले भने, "हामीलाई धारिलो हतियार राखेको छ, भाला, खुकुरी हतियार राखेको छ भन्ने खबर आएकाले होटलहरूमा जाँच गरिएको हो।"

यस्तै, भक्तपुरकी सीडीओ रोशनीकुमारी श्रेष्ठले प्रसाईंलाई प्रहरीले सुरक्षा दिएको बताएकी छन्। प्रसाईंलाई भक्तपुरस्थित आफ्नै निवासमा नजरबन्द राखेको भन्ने विषयमा उनले यस्तो बताएकी हुन्। 

"हामीले सुरक्षा मात्र दिएका हौँ। उहाँ व्यक्तिगत रूपमा निस्किनुहुन्छ भने हामी सुरक्षा दिएर निस्किन दिन्छौँ। यदि कार्यक्रम गर्नको लागि हो भने प्रशासनको सिफारिस लिएर आउनुपर्‍यो," उनले भनिन्।