प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान

सर्वोच्च अदालतमा प्रस्तावित ६ जना न्यायाधीशका सम्बन्धमा उजुरी दिन १० दिने सूचना जारी गर्ने प्रस्ताव संसदीय सुनुवाइ समितिबाट पारित भएको छ।

काठमाडौँ– सर्वोच्च अदालतमा प्रस्तावित ६ जना न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरू भएको छ।

शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्याय परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश पदका लागि सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजित मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको संसदीय सुनुवाइ प्रक्रिया शुरू गरेको हो। 

साथै बैठकले मन्त्रिपरिषद्ले सिफारिस गरेका पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदूत सनील नेपालको लागि उजुरी दिन आह्वान गर्ने निर्णय गरेको छ। 

प्रस्तावित राजदूत र सर्वोच्च अदालतका न्यायाधीश पदमा सिफारिस गरिएकाहरूका लागि उजुरी दिन १० दिने सूचना जारी गर्ने प्रस्ताव समितिबाट पारित गरिएको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपतिसमशेर जबराले जानकारी दिए।

“सुनुवाइको लागि समितिमा प्राप्त राजदूत तथा सर्वोच्च अदालतका न्यायाधीश प्रस्तावित व्यक्तिका नियुक्तिको अनुपयुक्तताको सम्बन्धमा उजुरी माग गर्ने सम्बन्धी सूचना प्रकाशन तथा प्रकाशित गर्न समिति सचिवलाई निर्देशन दिन्छु,” उनले भने।

न्याय परिषद्को गत मंसिर ५ गते बसेको बैठकले उच्च अदालत विराटनगरकी मुख्य न्यायाधीश सुवेदी, उच्च अदालतका न्यायाधीशहरू मुसलमान, पौडेल र ढुंगाना तथा कानून व्यवसायीका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय पोखरेल र ढकाललाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो। 

त्यसैगरी, मन्त्रिपरिषद्को गत कात्तिक २३ गते बसेको बैठकले नेपाललाई पोर्चुगलका लागि आवासीय राजदूतको रूपमा नियुक्ति गर्ने सिफारिस गरेको थियो।

संसदीय सुनुवाइ समितिको अनुमोदन गरेपछि राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा २ बमोजिम प्रस्तावित सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने व्यवस्था छ।