विपिनको रिहाइका लागि पहल गरिदिन कतारी विदेश राज्यमन्त्रीसँग आग्रह

परराष्ट्र मन्त्रालयले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेको छ।

काठमाडौँ– सरकारले नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेको छ।

कतार लगायतका देशको पहलमा इजरायल र हमासबीचको युद्ध रोक्ने प्रस्तावमा सहमति भएको थियो। यस सहमतिसँगै हमासले आफ्नो नियन्त्रणमा रहेका केही मानिसहरूलाई रिहा गर्ने र इजरायलले पनि आफ्नो नियन्त्रणमा रहेका प्यालेस्टिनीलाई छोड्ने बताइएको छ।

बिहीबार दुईदिने नेपाल भ्रमणमा आएका कतारी विदेश राज्यमन्त्री अल–मुखैरीले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शिष्टाचार भेटवार्ता गरेका थिए। भेटमा दुई देशबीचको सम्बन्ध बिस्तारबारे छलफल भएको बताइएको छ। साथै भेटका क्रममा रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकास र उच्च स्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो।

यसअघि परराष्ट्रमन्त्री एनपी साउदले राज्यमन्त्री अल–मुखैरीसँगको भेटमा हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए। परराष्ट्र मन्त्रालयमा अल–मुखैरीसँगको भएको भेटका क्रममा मन्त्री साउदले कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाइका लागि पहल गरिदिन आग्रह गरेको परराष्ट्र सचिवालयले जनाएको हो। 

विद्रोही समूह हमासले शुक्रबारबाट रिहा गर्न लागिएको भनिएका ५० जनाको समूहमै जोशीलाई पनि रिहाइ गराइदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दीपकराज जोशीले बताए। जवाफमा कतारी विदेश राज्यमन्त्री मुखैरीले रिहाइका लागि सहयोग गर्ने आश्वासन दिएको जोशीले जानकारी दिए। 

भेटका क्रममा परराष्ट्रमन्त्री साउदले गाजामा युद्धविराम र हमासले बन्धक बनाएका नागरिकको रिहाइका लागि कतार सरकारले निर्वाह गरेको मध्यस्थकर्ताको भूमिकाको प्रशंसा गरेका छन्। यसअघि बिहीबार मन्त्री साउदले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए।

भेटका क्रममा अल–मुखैरी र साउदबीच रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकास र उच्चस्तरीय भ्रमणलगायत द्विपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ।