अधिवेशन नचलेको बेलामा के गर्दै छ संसद् सचिवालय?

समितिले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित मन्त्रालयले गरिरहेका कामको निगरानी गर्ने, प्रगति बुझ्ने र आवश्यकताअनुसार निर्देशन दिने कामसमेत गर्ने संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। 

काठमाडौँ– संघीय संसद् सचिवालयले अधिवेशन अन्त्य भएको अवस्थामा पनि संसदीय समितिहरूले निरन्तर काम गरिरहेका जनाएको छ।

संघीय संसद्को दुवै सदनको अधिवेशन गत कात्तिक १६ गते अन्त्य भयो। सो दिन प्रतिनिधिसभाको दोस्रो अधिवेशन र राष्ट्रियसभाको चौथो अधिवेशन अन्त्य भएको हो। संसद् अधिवेशन अन्त्य भएसँगै नयाँ बानेश्वरस्थित संघीय संसद् भवन सुनसान बनेको छ।

सांसदहरू र सांसदलाई भेट्न आउने आगन्तुकहरूले सधैँ भीड हुने सिंहदरबार क्षेत्रमा पनि मानिसहरूको चाप निकै कम भएको छ। संसद्को अधिवेशन अन्त्य भएकाबेलामा पनि संघीय संसद् सचिवालयले भने प्रशासनिक कामको अलावा पनि संसदीय गतिविधिहरू जारी रहने जनाएको छ। 

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्य भए पनि संसदीय समितिहरूले भने काम गरिरहेका बताए। उनले यस अवधिमा समितिहरूले समितिमा विचाराधीन अवस्थामा रहेका विधेयकहरूमाथि विस्तृत रूपले छलफल  गर्ने बताए। 

समितिहरूले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित मन्त्रालयले गरिरहेका कामहरूको निगरानी गर्ने, कार्य प्रगति बुझ्ने र आवश्यकताअनुसार निर्देशन दिने कामहरूसमेत गर्ने उनले जानकारी दिए। 

प्रवक्ता गिरीका अनुसार सचिवालयले यसै अवधिमा सफ्टवेयर अपडेट गर्ने, भिडियो तथा अडियो रेकर्डहरूको व्यवस्थापन गर्ने लगायतका कामहरू गर्ने गर्छ। त्यसैगरी, वेबसाइटलाई परिष्कृत गर्ने काम पनि यसै समयमा हुन्छ। उनले यो बेलामा नीतिगत प्रकारका र क्षमता अभिवृद्धिका कामहरू पनि संघीय संसद् सचिवालयले सम्पन्न गर्ने बताए।

राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले समितिहरू सुचारु अवस्थामा रहेको बताए। उनले कतिपय समितिहरूले अधिवेशन अन्त्य भएको समयमा अनुगमनका कामहरू गर्ने गरेको बताए। उनले समसामयिक विषयहरूमा सरकारलाई ध्यानाकर्षण गराउने र निर्देशन गराउने काम पनि समितिहरूले गर्न सक्ने र सोहीअनुरूप गरिरहेका पनि बताए।

“संसद् नहुँदा संसद्कै रूपमा समितिले सरकारलाई ध्यानाकर्षण गराउने, निर्देशन दिने, समसामयिक विषयमा छलफल गर्ने, जनताको समस्या, गुनासोहरूमा जनताको ध्यानाकर्षण गराउने लगायत थुप्रै तरिकाले संसद् सरहकै कामहरू समितिले गर्न सक्छ। ती कामहरू गरिरहेको पनि छ,” उनले भने।

सभापति पन्थले अधिवेशन अन्त्य भएको बेलामा सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा पनि केन्द्रित हुने गरेका बताए।