पूर्वी नाकामा प्रहरीको सुरक्षा निगरानी

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार नाकाहरूबाट नेपाल प्रवेश गर्नेहरूको परिचयपत्र हेर्ने, आउनुपर्ने कामसहित जानकारी लिने गरिएको छ।

विराटनगर– भारतसँग सीमा जोडिएका कोशी प्रदेशका चार जिल्लाका नाकाहरूमा प्रहरीले केही दिनयता निगरानी र जाँचमा कडाइ गरेको छ। भारतबाट अवैध घुसपैठको आशंकामा नाकाहरूमा कडाइ गरिएको हो।

प्रदेश प्रहरी कार्यालयले सीमावर्ती क्षेत्रमा तालिमप्राप्त कुकुरसहित प्रहरी गस्तीलाई निरन्तरता दिइरहेको छ। प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक राजेश बास्तोलाका अनुसार झापा, मोरङ, सुनसरी र इलामका नाकाहरूमा निगरानी बढाइएको बताए। अझै केही दिन नाकाहरूमा विशेष निगरानी जारी रहनेछ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजधानीकेन्द्रित प्रदर्शन जारी राखेसँगै प्रहरीले नाकाहरूमा निगरानीलाई निरन्तरता दिने भएको हो। उनका अनुसार नाकाहरूबाट नेपाल प्रवेश गर्नेहरूको परिचयपत्र हेर्ने, आउनुपर्ने कामसहित जानकारी लिने गरिको छ।

आफ्नो आन्दोलनमा भारतबाट समेत सहभागी हुन आउने जानकारी प्रसाईंले सार्वजनिक गरेपछि प्रहरीले निगरानी बढाएको थियो। प्रहरीले मोरङको जोगबनी, झापाको काँकडभिट्टा, भद्रपुर, इलामको पशुपतिनगर र सुनसरीका नाकाहरूमा सूक्ष्म निगरानी भइरहेको जनाएको छ। यस क्रममा नेपाल प्रवेश गर्न खोज्ने कतिपय समूहलाई प्रहरीले नाकाबाटै फर्काएको जनाएको छ।