राजतन्त्र फर्काउँछु भन्नु मूर्खता हो : ओली

एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीले सरकार छाडेपछि देशको राजनीति फोहोरी खेलतर्फ अगाडि बढेको टिप्पणी गरे। 

काठमाठौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चेतनाविहीनले मात्रै राजसंस्था फर्काउने सपना देख्ने टिप्पणी गरेका छन्।

ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा शुक्रबार आयोजित युवासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधनमा राजसंस्थालाई ‘प्रेत’को संज्ञा दिँदै उनले एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्नु मूर्खता भएको बताएका हुन्।

“केही तत्त्वहरू हेर्दाहेर्दा वाक्क दिक्क भएर जनताले पाल्न नसकिने रहेछ, यो काम लाग्ने चिजै होइन रहेछ भनेर १५ वर्षअघि नै फ्याँकिइसकेको राजतन्त्र फर्काउन भनेर हिँडिरहेका छन् मरेको प्रेतका पछाडि,” उनले भने, “नली खुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही लाग्या छन्।”

राजधानीको तीनकुनेमा बिहीबार युवा संघले शक्ति प्रदर्शन गरेको थियो। बिहीबारको आन्दोलनमा युवा संघले आफ्नो शक्ति थोरै मात्रामा देखाएको भन्दै अध्यक्ष ओलीले सिंगै युवा संघ उत्रियो भने के हुन्छ? भन्दै चेतावनी दिए।

अध्यक्ष ओलीले नागरिक सर्वोच्चता स्वीकार नगर्नु व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने चेतना नभएर मूर्खता भएको तर्क गरे। “नागरिक सर्वोच्चता स्वीकार नगर्ने, एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने, त्यो चेतना होइन, मूर्खता हो,” उनले भने।

अध्यक्ष ओलीले आफ्नो पार्टीले सरकार छाडेपछि देशको राजनीति फोहोरी खेलतर्फ अगाडि बढेको टिप्पणी गरे। “देशमा वर्तमान सरकारको कारणले आशालाग्दो अवस्था छैन। हामीले सरकार छोडेपछि राजनीति फोहोरी खेलतर्फ गयो,” उनले भने, “यतिसम्म फोहोर कि हाम्रो सरकार हुँदै त्यसलाई हटाउन यति फोहोरी खेल भयो।”

अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति असन्टुष्टि व्यक्त गरे। उनीप्रति इंगित गर्दै एमालेमा हुँदा आफ्नो पार्टीको सरकार ढलाइपाऊँ र दक्षिणपन्थी नेतृत्वको सरकार पाऊँ भनेर अदालतमा मुद्दा हालेको ओलीले भनाइ राखे।

पार्टीभित्रै रहेका नेताको गैरजिम्मेवार क्रियाकलापले देशमा पार्टीप्रतिको निष्ठाको राजनीतिमा गम्भीर खलल पुर्‍याउने काम भएको आरोप उनले लगाए। आफूलाई वामपन्थी र कम्युनिस्ट भन्नेहरूबाट झुक्क्याउने नाम र नारा दिने काम भएको टिप्पणी उनले गरे।