‘भूकम्प प्रभावित क्षेत्रका सुत्केरी र बालबालिकाको स्वास्थ्यमा ध्यान देऊ’

जाजरकोट भूकम्पबाट प्रभावित सुत्केरी, नवजात शिशु र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन सरोकारवालाले गृह मन्त्रालयसहित सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएका छन्।

काठमाडौँ– जाजरकोट भूकम्पबाट पीडित सुत्केरी, नवजात शिशु र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन महिला कानून र विकास मञ्च (एफडब्लूएलडी) र राष्ट्रिय महिला आयोगले गृह मन्त्रालयलगायत सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएका छन्। 

विपद्को समयमा उनीहरूले पाउनुपर्ने स्वास्थ्य सेवा सुनिश्चित गर्न मन्त्रालयसहित सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराइएको एफडब्लूएलडी सचिवालयका तर्फबाट नवीनकुमार श्रेष्ठ र आयोग अध्यक्ष कमला पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

भूकम्पबाट बढी प्रभावित जाजरकोटको बारेकोट र कुशे गाउँपालिका, नलगाड र भेरी नगरपालिकामा ५ वर्ष मुनिका १० हजार ५ सय ६० बालबालिका प्रभावित छन्। यस्तै, १३ सय ६० जना गर्भवती भूकम्पबाट प्रभावित भएका छन् भने ९ सय सुत्केरी छन्। रूकुम पश्चिममा ५ वर्ष मुनिका ५ हजार ५ सय ६७ बालबालिका, १ हजार ६८ जना गर्भवती र ७ सय ३९ जना सुत्केरी भूकम्पबाट प्रभावित रहेको विज्ञप्तिमा उल्लेख छ।

उक्त ध्यानाकर्षण प्रतिनिधिसभा महिला तथा सामाजिक मामिला समिति, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश, स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली प्रदेश र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गृह मन्त्रालयलाई बोधार्थ दिइएको छ।

एफडब्लूएलडी, सेन्टर फर रिप्रोडक्टिभ राइट, आईपास, मेरी स्टोप्स, कृपा, पीएसआई, सञ्चारिका, योसान, भिजिबल इम्पिक्ट, साथीलगायतका १४ वटा गैरसरकारी संस्थाले ध्यानाकर्षणमा ऐक्यबद्धता जनाएका छन्।