सरकारले आधारभूत स्वास्थ्य अस्पताल बनाउने अभियान शुरू गरेको थियो तर तीन वर्ष बित्न लाग्दा कतिपय पालिकामा काम नै शुरू नहुनुले जनतामा निराशा छाएको छ।
फिक्कल– स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्याउन संघीय सरकारले २०७७ मंसिर १५ गते इलामका सातसहित कोशी प्रदेशका ८६ ओटा आधारभूत अस्पताल एकैसाथ शिलान्यास गरेको तीन वर्ष पुग्न लाग्यो। तर, अझै पनि अस्पताल निर्माणको कार्य निराशाजनक छ।
जिल्लाको माईजोगमाई, रोङ, चुलाचुली, फाकफोकथुम, र माङसेबुङ गाउँपालिका साथै सूर्योदय र माई नगरपालिका गरी सात स्थानीय तहमा आधारभूत स्वास्थ्य अस्पतालको शिलान्यास गरिएको थियो। तीमध्ये सूर्योदय, माई र चुलाचुलीमा १५/१५ शय्याको आधारभूत स्वास्थ्य अस्पताल निर्माण कार्य सम्पन्न भएर सेवा शुरू भएको एक वर्ष बित्यो।
बाँकी स्थानीय तहमा काम शुरू गर्ने छाँटकाँट नै छैन। माईजोगमाई गाउँपालिका–१ नयाँबजारमा १५ करोड रुपैयाँमा तीन वर्षे ठेक्कामार्फत १५ शय्याको आधारभूत स्वास्थ्य अस्पताल निर्माणको काम शुरू भएको डेढ वर्ष भयो। कामको प्रगति भने सुस्त नै छ।
गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले भने, “शुरूआतमा सामान ढुवानीको समस्याले ढिलाइ भए पनि काम समयमा सक्नलाई अहिले हामी ठेकेदारलाई लगातार ताकेता गरिरहेका छौँ।”
फाकफोकथुम गाउँपालिका–२ कोलभोटेमा १३ करोड ७९ लाख रुपैयाँमा ३६ महिनामा निर्माण हुने गरी २०७९ फागुन महिनामा १५ शय्याको आधारभूत स्वास्थ्य अस्पतालको ठेक्का लागेको थियो।
भौगोलिक रूपमा अप्ठ्यारो ठाउँ भएकाले जेठसम्म खार्दै ठिक्क भएको र मंसिरपछि धमाधम काम शुरू गर्ने गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालले बताएका छन्। जिल्लाको पश्चिमी गाउँपालिका फाकफोकथुममा सडक र स्वास्थ्य दुवैको सहज पहुँच नहुँदा नागरिकलाई सास्ती छ। बिरामी परेर उपचारमा सदरमुकामसम्म आउने सडक सञ्जालको व्यवस्थित निर्माण भएको छैन। वर्षामा यहाँका नागरिक पालिका छोडेर अन्यत्र जान सक्ने अवस्था नभएको स्थानीय बुद्धिसागर भण्डारीले बताए।
रोङ गाउँपालिका–५ मा आधारभूत स्वास्थ्य अस्पतालका लागि स्थानीयले १५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको भए पनि निर्माणको काम शुरू हुन सकेको छैन। उक्त अस्पताल निर्माणमा करिब ११ करोड रुपैयाँ हाराहारी लागत लाग्ने तर मन्त्रालयले १९ लाख मात्र बजेट छुटाएकाले काम गर्न अलमल भएको अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले बताए।
“चाडपर्वपछि एकपटक स्वास्थ्य मन्त्रालय गएर बजेट प्राप्तिको सुनिश्चितता भएपछि मात्र काम शुरू गर्छौं” उनले भने, “ठेकेदारले हामीसँग सम्झौता गरेको हुन्छ। मन्त्रालयले बजेट समयमा पठाएन भने यहाँ समस्या हुनेभएकोले प्रक्रिया अगाडि बढाउन नसकिएको हो।”
माङसेबुङ गाउँपालिका–५ लारुम्बामा अस्पताल बनाउन स्थानीयले आठ रोपनी जग्गा निःशुल्क दान दिएर पालिकाले डीपीआरको काम सके पनि मन्त्रालयले बजेट नदिँदा काम शुरू हुन नसकेको अध्यक्ष हेमन्त राईले बताए।
“यही काम लिएर मन्त्रालय धाएको पाँच पटक भयो । मन्त्रालयले बजेट अभावका नाममा भाका सारिरहन्छ। हामीले दिएको जग्गामा अस्पताल कहिले बन्छ अध्यक्षज्यू?” भन्दै स्थानीयवासीले प्रश्न गर्दा नाजवाफ हुनुपरेको उनी बताउँछन्।
“माङसेबुङका नागरिक बिरामी पर्दा सदरमुकाम पुग्नसमेत टाढा छ,” स्थानीय रोहित राई भने, “इलाम जानु र झापा पुग्नु हामीलाई उस्ताउस्तै हो।” ज्वरो खोकी जस्ता सामान्य समस्या त जडीबुटी खाएर निको हुने गरेको छ। तर, जटिल रोग लागिहाल्दा ज्यान गुमाउनुको विकल्प छैन।
सन्दकपुर गाउँपालिकामा १५ शय्याको आधारभूत स्वास्थ्य अस्पताल १३ करोड १७ लाख एघार हजार ३५ सय रुपैयाँमा ठेक्कामार्फत निर्माणाधीन अवस्थामा रहेको अध्यक्ष तुलाराम गुरुङले बताए। “तीन वर्षे ठेक्कामार्फत काम शुरू भएको दुई वर्ष बित्यो काम भने कछुवाको गतिमा छ। कारण मन्त्रालयले समयमा बजेट नदिएर हो,” उनले भने, “हालसम्म भूतहको काम मात्र भएको छ।”
नेपालको संविधान धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था छ। सोही धाराको उपधार १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ।
विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारीको पहिलो संक्रमणमा नेपालमा पहिलो पटक २०७६ माघ ९ गते पुष्टि भएपछि कोभिड–१९ संक्रमित अधिकांशले आधारभूत स्वास्थ्य अधिकारबाट वञ्चित हुनुपर्यो। त्यसको नकारात्मक असरले सरकारले आधारभूत स्वास्थ्य अस्पताल बनाउने अभियान शुरू गरेको थियो तर तीन वर्ष बित्न लाग्दा कतिपय पालिकामा काम नै शुरू नहुनुले जनतामा निराशा छाएको छ। जिल्लामा तीन सरकारी अस्पताल, ४४ स्वास्थ्य चौकी र चार प्राथमिक स्वास्थ्य केन्द्र छन्।
गत वर्ष इन्सेकले सार्वजनिक गरेको तथ्यांकअनुसार इलाममा एक लाख ४३ हजार ३५५ जनाले बीमा गराएर स्वास्थ्य सेवा लिइरहेका छन्। ज्येष्ठ नागरिकका लागि निःशुल्क बीमा कार्यक्रममा पनि १३ हजार ३२२ जनाको बीमा गरिएको छ। नेपाल सरकारले व्यवस्था गरेको स्वास्थ्य बीमा कार्यक्रममा अपांगता भएका र रातो कार्ड पाएका दुई हजार २४८ जना, कुष्ठरोगी सात जना, ज्येष्ठ नागरिक महिला पाँच हजार ८०५ जना र पुरुष सात हजार ५१७ जनाले बीमाको स्वास्थ्य सेवा पाइरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
