बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेस गर्दै कोशी सरकार

शनिबार दिउँसो १ बजे बस्ने बैठकमा कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पेस गर्ने कार्यसूची रहेको छ।

काठमाडौँ– कोशी प्रदेश सभाको बैठक शनिबार बस्दैछ।

दिउँसो १ बजे बस्ने बैठकमा कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

तत्कालीन मुख्यमन्त्री हिकमतकुमार कार्कीले चालु आर्थिक वर्षका लागि गत जेठ ३२ गते पहिलो पटक अध्यादेशबाट बजेट ल्याएका थिए। उनले ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएका थिए। 

हालका मुख्यमन्त्री केदार कार्कीले अध्यादेशबाट आएको बजेटभन्दा आकार बढ्ने गरी प्रतिस्थापन विधेयक पेस गर्न लागेका हुन् ।

प्रदेश सरकारको स्रोतबाट अध्यादेश बजेटमा उल्लेखित सम्झौता भइसकेका कार्यक्रम बाहेकलाई पुनर्विचार गर्दै प्रतिस्थापन विधेयक ल्याउन लागिएको हो। अध्यादेशबाट आएको बजेटभन्दा केही आकार बढ्न सक्ने प्रदेश सरकारका अधिकारीले बताएका छन्। 

त्यस्तै, ‘स्थानीय सेवाको गठन सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिनेसमेत शनिबारको कार्यसूचीमा उल्लेख छ।