लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरू, ७ वटै प्रदेशमा जनचेतनामूलक कार्यक्रम हुने

नेपाल सरकारले लैंगिक हिंसाको सम्बोधनका लागि नीतिगत, कानुनी व्यवस्थाका साथै विभिन्न अभियान र सचेतनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

तस्वीर: रासस

काठमाडौँ– हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शरू भएको छ।

‘लैंगिक हिंसा मानव अधिकारको हनन हो’ भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा जनचेतना विस्तार गर्न नेपालले पनि हरेक वर्ष नोभेम्बर २५ तारिखमा महिला हिंसा विरुद्धको राष्ट्रिय अभियान दिवसका रूपमा मनाउने गरेको छ।

सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसाविरुद्धको दिवस मनाउँदै आएको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसंघले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसाविरुद्धको विभिन्न अभियान शुरू भएका थिए।

नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिएको हो। महिलामाथि हुने हिंसाविरुद्ध व्यापक जनचेतना जगाउने र समस्याको पहिचान गरी समाधानका लागि राज्यलाई कानुनी आधार तय गर्न सहकार्य गर्नु, लैंगिक हिंसाविरुद्ध पुरुषको सहकार्यलाई अभिवृद्धि गर्नु, लैंगिक समानता तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अधिकारकर्मीबीच ऐक्यबद्धता कायम गर्नु, लैंगिक हिंसाका विविध आयाममा रणनीतिक छलफल गर्नु १६ दिने अभियानका मुख्य उद्देश्य रहेका छन्।

विश्वव्यापी रूपमै महिला हिंसासँग सम्बन्धित चरणबद्ध अन्तरक्रिया, सडक नाटक, पोस्टर तथा पम्प्लेट प्रतियोगिता, सार्वजनिक सुनुवाइ, सूचना/शिक्षा सामग्रीको प्रदर्शन, सञ्चार अभियान, गोलमेच छलफललगायत कार्यक्रम गरी मनाउने गरिएको छ।

नेपालको संविधानले लैंगिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ। 

नेपाल सरकारले लैंगिक हिंसाको सम्बोधनका लागि नीतिगत, कानुनी व्यवस्थाका साथै विभिन्न अभियान र सचेतनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

यस वर्ष ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले यस वर्ष १६ दिने अभियान अवधिभर सरोकारवाला निकायको समन्वयमा सात वटै प्रदेशमा प्रदेशस्तरीय विभिन्न जनचेतनामूलक र सन्देशमूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।