उदयपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

उदयपुरमा पिकनिक खाएर फर्किँदै गरेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। 

काठमाडौँ– उदयपुरमा बालबालिका सवार बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। 

शनिबार पिकनिकका खाएर फर्किँदै गर्दा मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ७ जोगीटोल अँधेरी खण्डमा प्र १–५००१ ख ००४४ नम्बरको बस दुर्घटनामा परेको हो।

दुर्घटनामा बसचालक र दुई बालबालिका गरी तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले ४० वर्षीय भिखन चौधरी, ७ वर्षीया साम्य चौधरी र ६ वर्षीय विकास चौधरीको मृत्यु भएको बताए।

उनका अनुसार बसमा ४० जना सवार थिए। गम्भीर अवस्थाका पाँच जनालाई थप उपचारका लागि विराटनगर पठाइएको छ। अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ। सामान्य घाइते भएकाहरू प्राथमिक उपचारपछि घर फर्किएका छन्।

“घाइतेहरू कोही गम्भीर र कोही सामान्य हुनुहुन्छ। पाँच जनालाई थप उपचारका लागि विराटनगर पठाइएको छ। केही प्राथमिक उपचारपछि घर फर्किनु भएको छ,” उनले भने।

दुर्घटनाग्रस्त बस त्रियुगा नगरपालिका– ५ देउरीमा रहेको अन्नपूर्ण सेकेन्डरी स्कुलको हो। दुर्घटनामा परेको बस स्कुल भए पनि बसमा सवारहरू भने गाउँका बालबालिकाहरू रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बस पिकनिक खाएर फर्किने क्रममा दुर्घटनामा परेको थियो। बस कटारीबाट गाईघाटतर्फ आइरहेको बेला ओरालो मोडमा दुर्घटनामा परेको हो।

“ओरालो मोडमा गाडी नमोडिएका कारणले दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ,” उनले भने। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।