सेवानिवृत्त अधिकृत थापाको पौरख: ५६ रोपनीमा सुन्तलाखेती

तनहुँमा गत वर्ष २९ करोडको सुन्तला उत्पादन भएको थियो। यहाँ उत्पादित अधिकांश सुन्तला काठमाडौँका बजारमा पुग्ने गरेको छ।

दमौली– तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक निवासी रामबहादुर थापा सुन्तला खेतीमा व्यस्त छन्। नेपाल सरकारको अधिकृतबाट सेवानिवृत्त भएदेखि उनी पूर्ण रूपमा यस खेतीमा लागेका हुन्। 

थापाले ५६ रोपनीमा सुन्तला खेती गरेका छन्। ४०० बोट सुन्तलाबाट बर्सेनि २५ लाख रुपैयाँभन्दा बढी आम्दानी भइरहेको उनले सुनाए।

“३५ वर्ष सरकारको कृषि प्रसार अधिकृतका रूपमा काम गरेर सेवानिवृत्त भएपछि पुर्खौली पेसा सुन्तला खेतीमा लागेको छु। यसमा सन्तुष्ट छु,” उनले भने। यस वर्षको सुन्तलाको ठेक्का २५ लाखमा काठमाडौँका व्यापारीलाई दिएको उनले बताए। उमेर अवस्थाका कारण पेसालाई निरन्तरता दिन कठिन रहेको उनको भनाइ छ। “विदेशमा रहेका छोराछोरी फर्केर यही पेसालाई निरन्तरता दिए हुन्थ्यो,” उनले भने। 

तीन फिटको खाल्डो खनेर, पाँच मिटरको दूरीमा बिरुवालाई मलजल गरी सार्न सके छिटो उत्पादन हुनसक्ने उनको सुझाव छ। “कृषिमै काम गरेकाले यसबारेमा मलाई अलि बढी जानकारी छ। किसानलाई पनि सुन्तला खेतीको तरिकाबारे सिकाउने गरेको छु,” उनले भने। अन्य ठाउँमा गितसिला नामको कीरा तथा ग्रिनिङबाट बोट नष्ट भए पनि आफूले आजसम्म बोट रोगमुक्त बनाउन सकेको उनले सुनाए। 

जिल्लामा गत वर्ष २९ करोडको सुन्तला उत्पादन भएको थियो। यहाँ उत्पादित अधिकांश सुन्तला काठमाडौँका बजारमा पुग्ने गरेको छ। सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन्। 

काठमाडौँका अलवा पोखरा, नारायणगढलगायतका ठाउँमा बिक्री हुने गरेको छ। यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायतका ठाउँमा समेत बिक्री हुने किसान बताउँछन्। 

तनहुँको आठ हजार ५७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ। कृषि ज्ञान केन्द्रले सुन्तला खेतीमा लागेका किसानलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ।