४ महिनामा डेढ अर्बको चिया निर्यात

चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा करिब २७ हजार हेक्टरमा चिया खेती हुन्छ। त्यति क्षेत्रफलमा वार्षिक २३ हजार ७४५ मेट्रिक टन चिया उत्पादन हुन्छ।

विराटनगर– पछिल्लो चार महिनामा करिब डेढ अर्ब रुपैयाँ बराबरको चिया निर्यात भएको छ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा एक अर्ब ४९ करोड ४४ लाख रुपैयाँ बराबरको (५७ लाख ७५ हजार किलो) चिया निर्यात भन्सार विभागले जनाएको छ। 

नेपाली चियाको मुख्य बजार भारत हो। पछिल्लो समय समुद्र पारका मुलुकमा पनि नेपाली चियाको माग बढिरहेको व्यवसायीले बताएका छन्।

नेपाली चिया जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेल्जियम, बुल्गेरिया, चेक रिपब्लिक, इटाली, जापान, भारत, चीन, अमेरिका, बेलायतलगायत देशमा निर्यात हुँदै आएको छ। विषादी प्रयोग नगरिएको अर्ग्यानिक चियाको माग समुद्रपारका मुलुकमा बढिरहेको इलाम फिक्कलका चिया व्यवसायी दिनेश अग्रवालले बताए। 

चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा करिब २७ हजार हेक्टरमा चिया खेती हुन्छ। त्यति क्षेत्रफलमा वार्षिक २३ हजार ७४५ मेट्रिक टन चिया उत्पादन हुन्छ। चिया खेतीमा १७ हजारभन्दा बढी किसान आबद्ध छन्।

बोर्डका अनुसार नेपालमा वार्षिक करिब दुई करोड ८० लाख किलो चिया उत्पादन हुँदै आएको छ। उक्त परिमाणमध्ये ०.५ प्रतिशत चिया मात्र आन्तरिक बजारमा खपत हुने गरेको तथ्यांक छ।

नेपालमा उत्पादित चियामध्ये करिब ९९ प्रतिशत कोशी प्रदेशमा उत्पादन हुन्छ। कोशीका इलाम, झापा, पाँचथर, धनकुटालगायत जिल्लामा मुख्य रूपमा चिया खेती हुने गरेको छ। तर, पछिल्लो समय दोलखा, रामेछाप, सिन्धुपाल्चोक, कास्की, लमजुङ, ललितपुरलगायत जिल्लामा चिया खेती विस्तार भएको छ। 

नेपालमा अर्थोडक्स चिया उत्पादन गर्ने ३० र सीटीसी चिया उत्पादन गर्ने ३८ गरी ६८ वटा ठूला चिया उद्योग सञ्चालनमा छन्। यसैगरी अर्थोडक्स चिया उत्पादन गर्ने १५० वटाभन्दा बढी साना प्रशोधन उद्योग सञ्चालनमा छन्।