१४ थाई नागरिक रिहा भइसक्दा विपिनको पर्खाइ जारी

युद्धविराम शुरू भएको तेस्रो दिनसम्म १४ जना थाई नागरिक रिहा भइसक्दा उनीहरूसँगै बन्धक बनाइएका भनिएका विपिन भने रिहा भएका छैनन्। 

इजरायली भूमिबाट हमासले बन्धक बनाएका नेपालका विपिन जोशी अझै रिहा भएका छैनन्। युद्धविराम शुरू भएको तेस्रो दिनसम्म १४ जना थाई नागरिक रिहा भइसक्दा उनीहरूसँगै बन्धक बनाइएका भनिएका कञ्चनपुरका विपिन भने रिहा भएका छैनन्। 

शनिबार राति दोस्रो चरणमा हमासले १३ जना इजरायली र ४ जना थाई नागरिकलाई रिहा गरेको छ। यसअघि पहिलो चरणमा शुक्रबार १३ इजरायली, १० थाई र एक फिलिपिनी नागरिकलाई हमासले रिहा गरेको थियो। युद्धविरामको सम्झौता अनुसार हमासले रिहा गरेको इजरायली बन्धकको तुलनामा इजरायलले तीन गुणा बढी प्यालेस्टिनी कैदीलाई रिहा गरिरहेको छ। त्यो अनुसार अहिलेसम्म इजरायलले ७८ प्यालेस्टिनीलाई रिहा गरिसकेको छ। पहिलो दिन इजरायलले १७ जना बालबालिकासहित ३९ जना प्यालेस्टिनीलाई रिहा गरेको थियो। दोस्रो दिन शनिबार पनि ३९ जना प्यालेस्टिनी नागरिकलाई रिहा गरेको छ। 

युद्धविराम शुरू भएको तेस्रो दिनसम्म हमासले ४१ जना बन्धकलाई रिहा गरिसकेको छ। अहिलेसम्म १५ जना गैरइजरायली बन्धक रिहा भइसक्दा विपिन जोशी भने रिहा भएका छैनन्। उनी कहिले रिहा हुने कुनै निश्चित छैन। गएको अक्टोबर ७ मा इजरायली भूमि किबुजमा हमासले गरेको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने विपिनलाई हमास समूहले बन्धक बनाएको थियो।

केही दिनअघि इजरायली सेनालाई उद्धृत गर्दै तेलअविवस्थित नेपाली दूतावासले विपिन जोशी हमासकै कब्जामा रहेको पुष्टि गरेको थियो। तर उनको रिहाइको विषयमा भने नेपालको परराष्ट्र मन्त्रालय तथा दूतावासले केही जानकारी दिएको छैन।