२० वर्षयता ‘ग्रिनिङ’ भाइरसका कारण सुन्तलाको जरा मर्ने, पात मर्ने, हाँगा सुक्दै जाने, साना दाना लाग्ने, कम फल्नेजस्ता समस्या किसानले झेल्दै आएका छन्।
लमजुङ– बेँसीशहर नगरपालिका–११ स्याउत गाउँका सुरेशबाबु पाण्डेले करिब २० वर्ष अघिदेखि ४०० रोपनी जमिनमा सुन्तलाखेती गर्दै आएका थिए। उनको बारीमा रहेका ५०० बोट सुन्तलाले वर्षको तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी हुने गर्थ्यो। तर, अहिले उनको बगान रोगले सखाप भएको छ। “यो साल त आफूले खाने सुन्तला पनि छैन,” उनले भने।
सुन्तला सखाप भएपछि धान र मकैखेती गर्न थालेको उनले सुनाए। “त्यति बेला सुन्तला बिक्री गरेर परिवारको खर्च टार्न सहज भएको थियो अचानक रोग लागेर मर्दै जाँदा बगैँचा नै सखाप भयो,” उनले भने, “अहिले किनेर सुन्तला खानुपरेको छ।”
सोही गाउँका भगवती पन्तको सुन्तलाबारी पनि सखाप भएको छ। “५० वर्ष अघि स्याउत गाउँमै पहिलो सुन्तलाखेती हामीले गरेका थियौँ। १३ रोपनी जग्गामा ६०० बोट सुन्तला लगाएका थियौँ। वर्षको छ/सात लाख रुपैयाँ आम्दानी गर्दै बालबच्चा पढाउन र घरखर्च चलाएर पनि बचत हुन्थ्यो।”
दुःख गरेर लगाइएको सुन्तलाखेती नासिँदा दुःख लागेको उनले सुनाए। “सुन्तला नभए पनि कागती हुन्छ की भनेर तीन वर्षअघि २० हजार रुपैयाँमा १०० वटा कागतीको बिरुवा सारेकामा गत वर्ष कागती पनि मरे,” उनले भने।
रमेशराज पन्तको पनि उस्तै समस्या छ। विगतमा धेरै वर्षसम्म सुन्तलाबाट वार्षिक चार/पाँच लाखसम्म आम्दानी गर्थे। लटरम्मै हुने गरी फल दिने सुन्तलाका बोटले फल दिन नसक्दा उनी पनि चिन्तित छन्। उनीहरूको मात्रै नभई गाउँमा रहेका ८० घरपरिवारले नै लामो समयदेखि सुन्तला लगाउँदै आए पनि बोटमा रोग लागेपछि अधिकांशको सुन्तला मरिसकेको छ।
२० वर्षको बीचमा ग्रिनिङ भाइरसका कारण सुन्तलाको जरा मर्ने, पात मर्ने, हाँगा सुक्दै जाने, साना दाना लाग्ने, कम फल्नेजस्ता समस्या किसानले झेल्दै आएका छन्। यसको समाधान गर्न नसक्दा गाउँभरिका सुन्तलाबारी नै सखाप भइसकेको छ। साविकको जिल्ला कृषि विकास कार्यालयमा पकेट क्षेत्रमा सूचीकृत स्याउत गाउँबाहेक तार्कुको गहते, करापुटारको बेतिनी, भोर्लेटारका लामासोती, उदिपुरको धिमिरे, भोटेओडारलगायत क्षेत्रमा रोग लागेर सुन्तलाका बोट मर्दै गएपछि बगैंँचा मासिँदै गएको छ। जिल्लामा उत्पादित सुन्तला कम हुँदा बाहिरी जिल्लामा उत्पादित सुन्तलाले बजार ओगटेको छ।
यतिबेला सुन्तला प्रतिकिलो १०० देखि १५० रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ। कत्ले, पतेरोलगायत कीराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाइन (उत्पादनमा ह्रास हुने रोग), ग्रिनिङ भाइरसजस्ता रोग लाग्ने तर गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोटजस्ता काममा किसानले ध्यान नदिएकाले सुन्तला बगैँचा मासिने क्रम बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
जिल्लामा एक हजार २०० हेक्टर क्षेत्रफलभन्दा बढीमा सुन्तला खेती हुने गरे पनि केही वर्षदेखि करिब १५० हेक्टर जमिनमा मात्र सुन्तला खेती हुने गरेको कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
