स्वास्थ्यमन्त्रीलाई पदमुक्त गर्न डा. केसीको माग

स्वास्थ्यमन्त्री बस्नेतले ऐनविपरीत सञ्चालित शिक्षालयलाई दण्डित गर्नुको सट्टा सम्बन्धन दिलाउन सरकारी निकायलाई दबाब दिएको आरोप लगाउँदै उनलाई तत्काल पदमुक्त गर्न डा. केसीले माग गरेका छन्।

काठमाडौँ– डा. गोविन्द केसीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल पदमुक्त गर्न माग गरेका छन्। डा. केसीले आइतबार विज्ञप्ति जारी गर्दै स्वास्थ्यमन्त्री बस्नेतले ऐनविपरीत सञ्चालित शिक्षालयलाई दण्डित गर्नुको सट्टा सम्बन्धन दिलाउन सरकारी निकायलाई दबाब दिएको आरोप लगाउँदै उनलाई तत्काल पदमुक्त गर्न माग गरेका हुन्।

“मापदण्ड नपुगेका र विगतमा ऐनविपरीत सञ्चालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐनविपरीत सम्बन्धन दिलाउन सम्बन्धित सरकारी निकायहरूलाई दबाब दिनु गैरकानूनी र खेदपूर्ण कार्य हो। यसले के प्रमाणित गर्छ भने देउवा र प्रचण्डजीका स्वास्थ्यमन्त्री माफियाहरूका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बरखिलाफ हो,” विज्ञप्तिमा भनिएको छ। डा. केसीले मन्त्री बस्नेतसँग स्वास्थ्यसम्बन्धी ज्ञान र अनुभव नभएको र बुझ्ने प्रयाससमेत नगरेको आरोप लगाएका छन्।

शनिबार स्वास्थ्यमन्त्री बस्नेतले डा. केसीलाई गिरोहले चलाइरहेको भन्ने आशयको अभिव्यक्ति दिएका थिए। त्यसपछि डा. केसीले आइतबार विज्ञप्ति जारी गर्दै स्वास्थ्यमन्त्री बस्नेतलाई ‘माफियाहरूको नाइके’को संज्ञा दिँदै उनी पदमा बसिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बरखिलाफ हुने जनाएका हुन्।

डा. केसीले स्वास्थ्यमन्त्री बस्नेतले आफूमाथि लगाएका आरोप कपोकल्पित र झूटो भएको उल्लेख गर्दै ती आरोपको छानबिन गर्न चुनौती दिएका छन्। “छानबिनमा मेरो पूर्ण सहयोग रहनेछ र मेरो अलिकति पनि संलग्नता पाइएमा कुनै पनि सजाय भोग्न तत्पर छु,” उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उनले छानबिनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा, स्वास्थ्यमन्त्री (पदमुक्त गरेपछि) र सम्बन्धित निकायका पदाधिकारी साथै वरिष्ठ पत्रकार सदस्य रहेको आयोग गठन गर्न भनेका छन्।

मंसिर २८ गतेभित्र सरकार र आफूहरूबीच भएको सम्झौता कार्यान्वयन नभए २९ गतेदेखि थप कडा मागसहित सत्याग्रहलगायत विरोधका कार्यक्रम थाल्ने डा. केसीको चेतावनी छ।