क्यानडाको राजदूतमा भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन

संसदीय सुनुवाइ समितिले क्यानडाका लागि राजदूतमा सिफारिस भरतराज पौड्यालको नाम सर्वसम्मतले अनुमोदन गरेको छ।

काठमाडौँ– संसदीय सुनुवाइ समितिले क्यानडाका लागि सिफारिस राजदूत भरतराज पौड्यालको नाम सर्वसम्मतले अनुमोदन गरेको छ।

आइतबार बसेको संसदीय समितिको बैठकले क्यानडाको राजदूतका लागि पौड्यालको नाम अनुमोदन गर्ने निर्णय गरेको हो।

समितिका ज्येष्ठ सदस्य सभापति ज्ञानेन्द्रबहादुर कार्कीले क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको नाम समितिबाट सर्वसम्मत रूपमा अनुमोदन भएको बताए। 

समितिले उनलाई क्युबा, डोमिनिकन रिपब्लिक, जमैका र हाइटीका लागि गैरआवासीय राजदूत र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ)को पनि स्थायी प्रतिनिधिको रूपमा नियुक्ति गर्ने निर्णयको अनुमोदन गरेको छ।

त्यसअघि उनीमाथि परेका उजुरीका सम्बन्धमा समितिमा सुनुवाइ भएको थियो। उनीमाथि सरकारी कर्मचारीलाई आएको छात्रवृत्ति आफ्नो छोरीलाई दिलाएको उजुरी परेको थियो।

यसबारेमा समितिका सदस्यले राखेको जिज्ञासामा उनले आफूले इमानदारीपूर्वक काम गरेको र छोरीले आफ्नो क्षमताले छात्रवृत्ति प्राप्त गरेको जवाफ दिएका थिए।

कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रसचिव पौड्याललाई क्यानडाका लागि राजदूत सिफारिस गरेको थियो।

कात्तिक १५ गते संसदीय सुनुवाइ समितिले पौड्यालउपर उजुरी आह्वान गरेको थियो।

हाल परराष्ट्रसचिव रहेका पौड्याल यही २० मंसिरमा सेवाबाट अवकाश पाउँदै छन्।