सरकारले वैशाख ९–१० गते तेस्रो लगानी सम्मेलन गर्ने

अर्थमन्त्री डा. महतले ठूलो लगानीलाई मात्रै नहेरी रोजगार सिर्जना गर्ने, उत्पादनका क्षेत्रमा मद्दत पुर्‍याउने, छिमेकी देशबाट धेरै उद्योग व्यवसाय ल्याउनेलाई मध्यनजर गर्दै काम गर्ने तयारी गरिएको बताए।

काठमाडौँ– अर्थमन्त्री प्रकाशशरण महतले सरकारले आगामी वैशाख ९ र १० गते तेस्रो लगानी सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएका छन्। तेस्रो लगानी सम्मेलन २०८१, निर्देशक समितिको पहिलो बैठकमा उनले काठमाडौँमा उक्त सम्मेलन गर्ने गरी तयारी भइरहेको बताएका हुन्। 

“विदेशी लगानीकर्ताहरू निजीक्षेत्रसँग जोडेर ल्याउनु पर्ने छ, यसमा उहाँहरूको ठूलो भूमिका छ, यसमा सरकारको भन्दा पनि ठूलो भूमिका निजीक्षेत्रको देखिन्छ। वैशाख ९–१० गते सम्मेलन गर्न लागेका छौँ। हामी तयारीमा लागेका छौँ,” उनले भने।

उनले ठूला–ठूला लगानीलाई मात्रै नहेरेर रोजगार सिर्जना गर्ने, विभिन्न उत्पादनका क्षेत्रमा मद्दत गर्ने, छिमेकी देशबाट धेरै उद्योग व्यवसाय ल्याउनेलगायतलाई मध्यनजर गर्दै काम गर्ने तयारी गरिएको बताए। 

“विदेशी लगानीको मात्रै हामी कुरा गरिरहेका छौँ। यसमा नेपालकै लगानीकर्ताहरूको पनि उपस्थिति आवश्यक हुन्छ। गैरआवासीय नेपालीहरूले पनि नेपालमा लगानी गर्ने गरेका छन्। साना लगानीकर्ताहरूलाई पनि ल्याउने कुरा हाम्रो अर्को काम हुन्छ,” उनले भने, “स्थानीय, विदेशी र गैरआवासीय लगानीकर्तालाई जोडेर जाने र उहाँहरूलाई सहज बनाउने काम गर्छौं।”

लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति  बनाइएको छ, उक्त समितिको पहिलो बैठक आइतबार बसेको हो। 

लगानी सम्मेलन आयोजना गर्न मुख्यसचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा प्राविधिक समिति छ। तेस्रो लगानी सम्मेलनको सचिवालय लगानी बोर्डको कार्यालयमा रहने जनाइएको छ।

सम्मेलनका लागि आवश्यक कानूनी सुधार, प्राविधिक विषय, लगानीकर्तालाई सम्मेलनबारे जानकारी दिनेलगायत काम कार्यान्वयन समिति र प्राविधिक समितिमार्फत गरिने जनाइएको छ।