पोर्चुगल र कुवेत पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने दुई जना पक्राउ

पक्राउ पर्नेमा रोल्पाका निमराज डाँगी र पाल्पा रब्दिकोट नगरपालिकाका चक्र पोखरेल रहेका छन्।

काठमाडाैँ– वैदेशिक रोजगारीमा पोर्चुगल र कुवेत पठाउने भन्दै लाखाैँ रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रोल्पाको गंगादेव गाउँपालिकाका निमराज डाँगी र पाल्पाको रब्दिकोट नगरपालिकाका चक्र पोखरेल रहेका छन्। उनीहरूलाई काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले आइतबार काठमाडाैँबाट पक्राउ गरेको हो।

निमराज डाँगीले जोनसन श्रेष्ठ भन्ने व्यक्तिलाई रोजगारीको लागि पोर्चुगल पठाइदिने भन्दै १० लाख रुपैयाँ लिएर फरार भएका थिए। त्यहाँ जान १६ लाख रुपैयाँ लाग्ने र मासिक १ लाख २० हजार रुपैयाँ तलब हुन्छ भनेका थिए।

यस्तै, चक्र पोखरेलले वैदेशिक रोजगारीमा कुवेत पठाइदिने भन्दै पीडित दिपेश तामाङबाट पटकपटक गरी १ लाख ८६ हजार रुपैयाँ लिएर फरार भएका थिए। कुवेतमा मासिक ६० हजार रुपैयाँ तलबको काम लगाइदिने र त्यसको लागि दुई लाख रुपैयाँ लाग्छ भनेका थिए।

दुवै जनालाई अहिले थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी कार्यालयले जनाएको छ।