ढुंगा प्रहारबाट एमाले नेता भट्टराई सवार गाडीमा क्षति

एमाले ताप्लेजुङले आयोजना गरेको चियापान कार्यक्रम सकेर फर्किने क्रममा नेता भट्टराईको गाडीमा ढुंगा प्रहार भएको प्रहरीले जनाएको छ।

ताप्लेजुङ– नेकपा एमालेका नेता योगेशकुमार भट्टराई चढेको सवारीसाधनमा ढुंगा प्रहार भएको छ।

आइतबार एमाले ताप्लेजुङद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सकेर फर्किने क्रममा फुङलिङको तोक्मे बजारनजिकै भट्टराई सवार गाडीमा ढुंगा प्रहार भएको हो।

ढुंगा प्रहारबाट गाडीको अगाडिको सिसामा क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। ढुंगा प्रहार पहिचान पक्षधरबाट भएको जनाइएको छ।

प्रहरीले स्कटिङ गराएर लैजाँदै गर्दा केही पहिचान पक्षधर युवाले लुकेर ढुंगा प्रहार गरी फरार भएको प्रहरीको भनाइ छ। ढुंगा प्रहारबाट अन्य क्षति भएको छैन।

यसअघि आइतबार बिहान पहिचान पक्षधरले पहिचानको विरोध गरेको आरोप लगाउँदै भट्टराई निवासअघि कालो झण्डासहित नाराबाजी गरेर प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा एमालेका युवा नेता कार्यकर्ता र प्रर्दशनकारीबीचमा झडप भएको थियो।