रामग्राम स्तूप उत्खननमा पुरातत्त्व अवशेष भेटियो : लुम्बिनी विकास कोष

रामग्राम नगरपालिका–७ को उजैनीमा रहेको रामग्राम स्तूप क्षेत्रमा उत्खनन गर्दा प्राचीनकालका संरचना भेटिएको लुम्बिनी विकास कोषले जनाएको छ।

नवलपरासी– पश्चिम नवलपरासीको रामग्राम स्तूपको उत्खननमा पुरातत्त्व अवशेषहरू भेटिएको छ। रामग्राम नगरपालिका–७ को उजैनीमा रहेको रामग्राम स्तूप क्षेत्रमा उत्खनन गर्दा त्यहाँ प्राचीनकालका संरचना भेटिएको हो।

लुम्बिनी विकास कोषले रामग्राम नगरपालिकाको सहकार्यमा आइतबार पत्रकार सम्मेलन गरेर उत्खननमा भेटिएका प्रमाणका बारेमा जानकारी गराएको छ।

नोभेम्बर १ तारिखदेखि शुरू गरिएको उत्खननमा प्राचीन कालका विहारका विभिन्न इँटाका पर्खालहरू र पोखरी फेला परेको संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को)को सल्लाहकार तथा दुरहाम युनिभर्सिटिको प्रोफेसर रविन कनिंगमले बताए।

उनका अनुसार यस क्षेत्रमा प्राचीनका विभिन्न भौतिक संरचना छन्। गौतमबुद्धको अस्तिधातु रहेको उक्त क्षेत्रमा शुरूमा ‘जियोफिजिक्स’ द्वारा केही आधार खोज्ने प्रयास गरिएको थियो। उक्त ‘जियोफिजिक्स’कै आधारमा उत्खनन गरेपछि ती भौतिक संरचना फेला परेको प्रोफेसर कनिंगमले जानकारी दिए।  

रामग्राम स्तूप गौतमबुद्धको आठ अस्तिधातु मध्येको एक हो। बाँकी सात वटा अस्तिलाई विभिन्न राजाहरूले ८४ हजार टुक्रा गरेर विभिन्न ठाउँमा बाँडे पनि रामग्राम स्तूपको भने कोली राज्यले सिंगो नै राखेका छन्। जसको महत्त्व अन्य स्तूपभन्दा बढी रहेको बताइँदै आइएको छ।

पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले उत्खननमा भेटिएको प्रमाणबाट काल निर्धारण गरिने बताए। उनका अनुसार अहिले भेटिएको विभिन्न प्रमाणले यो कुन कालको संरचना हो, कस्ता मान्छे बस्थे लगायतका कुरा खुल्ने छ। यस्तै, पछिका दिनमा पनि यस क्षेत्रमा उत्खनन कार्यलाई निरन्तर दिइने कुँवरले बताए। 

कुँवरले रामग्राम स्तूपलाई केन्द्र विन्दु मानेर एक हजार मिटर चारै दिसातर्फ खोज अध्ययन अनुसन्धान गरिनुपर्ने आवश्यकता देखिएको बताए। रामग्राम र लुम्बिनीसँगै सम्बन्धित रहेको पण्डितपुरमा पनि ‘जियोफिजिक्स’को काम भइहरको उनले बताए।

उनका अनुसार त्यहाँ पनि केही तथ्य भेटिएको छ। जुन प्राचीनकालको शहर हुन सक्ने अनुमान गरिएको कुँवरले बताए। यी क्षेत्रमा रहेको संरचानालाई संरक्षण गर्नका लागि स्थानीय तहलाई लुम्बिनी विकास कोषले ध्यानाकर्षण गराएको छ।

यसैबीच रामग्राम नगरपालिकाका मेयर धनपत यादवले लुम्बिनी विकास कोष लुम्बिनीमै सीमित नभई रामग्रामलाई पनि गुरुयोजनाअन्तर्गत विकास गर्न आग्रह गरेका छन्। “रामग्राम स्तूपमा पर्यटक आउँछन् तर तथ्यांक के कति? कसैसँग नभएकाले संवेदनशील हुने गरेछन्,” उनले भने। 

रामग्राम नगरपालिकाले लुम्बिनी विकास कोषको सहकार्यमा रामग्राम स्तूप विकासलाई २० लाख रुपैयाँ रकम विनियोजन गरेको रामग्राम नगरपालिकाका मेयर यादवले बताए।