बजेट अभावले अलपत्र पर्‍यो भरतपुरको पुल्चोक–गोन्द्राङ ६ लेन सडक

भरतपुर महानगरको मुख्य बजार क्षेत्र नारायणगढमा नै सडक भत्काएर अलपत्र अवस्थामा रोकिएको छ। समयमा नै सडक विस्तारको काम नसकिँदा बजार क्षेत्रका व्यवसायी मर्कामा परेका छन्।

चितवन– नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक बजेट अभावमा अलपत्र परेको छ। भरतपुर महानगरको मुख्य बजार क्षेत्र हुँदै जाने पूर्वपश्चिम राजमार्गलाई ६ लेन बनाउन लागिएको हो। भरतपुर महानगरको मुख्य बजार क्षेत्र नारायणगढमा नै सडक भत्काएर अलपत्र अवस्थामा रोकिएको छ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई. रमेश पौडेलका अनुसार हालसम्म ७१ प्रतिशत भौतिक प्रगति भएको छ। सडकको धेरै काम कालोपत्र (अस्फाल्ट)को छ। पूरै सडक कालोपत्र अन्तिम रूप दिन बाँकी छ। सडक सम्पन्न गर्न थप ४५ करोड हाराहारी खर्च हुने भन्दै सडक विभागमा बजेट माग गरिएको उनले जानकारी दिए।

उनको भनाइमा फुटपाथ, बीबीएम, सर्भिस लेनजस्ता कामका लागि रु १५ करोड हाराहारी खर्च हुनेछ भने बाँकी कालोपत्रको काम हुनेछ। यस आर्थिक वर्षमा रु पाँच करोड बजेट निकासा भएकामा दशैअघि त्यस बराबरको बिल भुक्तानी भइसकेको छ। बजेट अभावमा काम रोकिएको उनले जानकारी दिए।

निरन्तर रूपमा बजेट निकासाका लागि पत्र पठाएसँगै विभागमा आग्रह गरिएको उनले बताए। यस सडक निर्माणका लागि पहल गर्दै आएको भरतपुर महानगरपालिकाले पनि बजेट निकासा गरेर तयारीमा जुटेको भ्रमण वर्ष २०२४ सफल पार्न सहयोग पुर्‍याउन सम्बद्ध पक्षसँग आग्रह गरेको छ। महानगर प्रमुख रेनु दाहालले सडक विभागका महानिर्देशक, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अर्थ मन्त्रालयका सचिवलाई पटकपटक आग्रह गरिएको बताइन्।

उनका अनुसार सडक विभागबाट थप बजेट माग भई मन्त्रालय पठाउने तयारी भइरहेको छ। दाहालले भनिन्, “मलाई विश्वास छ, बजेट निकासा भएर काम छिटै सम्पन्न हुन्छ।” 

सडक निर्माण सम्पन्न गर्नुपर्ने समय थप गरिएको मिति यसै महिना सकिँदै छ। निर्माण कम्पनी सगुन कन्स्ट्रक्सनका प्रमुख सहदेव खड्काले सरकारले बजेट दिए तीन महिनाभित्र सबै काम सक्ने दाबी गरे।

उनले सरकारले बजेट पर्याप्त नदिएकै कारणले द्रुतगतिमा काम गर्न नसकिएकाले ठेक्काको म्याद थपका लागि प्रक्रियासमेत अगाडि बढाएको बताए। कालोपत्रको काम धेरै भएकाले बजेट निकासा भएमा काम गर्न धेरै समय नलाग्ने उनको भनाइ छ। एक अर्ब २३ करोडको कुल लागतमा विस्तार गर्न लागिएको सडकको हालसम्म निर्माण कम्पनीले झन्डै ८० करोड रकम भुक्तानी लिइसकेको छ।

समयमा नै सडक विस्तारको काम नसकिँदा बजार क्षेत्रका व्यवसायी मर्कामा परेका छन्। उद्योग वाणिज्य संघ चितवनले सडक विस्तारले व्यवसाय प्रभावित भएको भन्दै डिभिजन सडक कार्यालय, भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालयमा दबाब दिँदै आएका छन्। सडकको काम रोकिँदा यात्रु र स्थानीयले पनि सास्ती भोगेका छन्। स्थानीय र सडक हुँदै यात्रा गर्नेले धुलोको समस्या व्यहोर्नु परेको छ।