सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी भेगमा हिमपातको सम्भावना

हाल देशमा माैसमी वायुको सामान्य प्रभाव रहेकाले धेरै वर्षाको सम्भावना नरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडाैँ– हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

देशमा माैसमी वायुको सामान्य प्रभाव रहेकाले धेरै वर्षाको सम्भावना नरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सोमबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम र  कर्णाली प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ।