हमासद्वारा बन्धकको तेस्रो समूह रिहा, अझै छुटेनन् विपिन

केही दिनअघि इजरायली सेनालाई उद्धृत गर्दै दूतावासले विपिन जोशी हमासकै कब्जामा रहेको पुष्टि गरेको थियो। तर उनको रिहाइको विषयमा भने नेपालको परराष्ट्र मन्त्रालय तथा दूतावासले केही जानकारी दिएको छैन।

काठमाडाैँ– प्यालेस्टिनी विद्रोही समूह हमासले युद्धविरामको तेस्रो दिन आइतबार १७ जना बन्धकलाई रिहा गरेको छ। आइतबार राति १३ इजरायली, ३ थाई र एक अमेरिकी बालिकासहित १७ बन्धकलाई रिहा गरेको अलजजिराले जनाएको छ। त्यसको बदलामा इजरायलले ४९ प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ। 

तेस्रो चरणसम्म बन्धक रिहा भइसक्दा पनि नेपालका विपिन जाेशी छुटेका छैनन्। १७ जना थाई नागरिक रिहा भइसक्दा उनीहरूसँगै बन्धक बनाइएका भनिएका कञ्चनपुरका विपिन रिहा हुनेबारे कुनै जानकारी नभएको इजरायलको तेलअविवस्थित नेपाली दूतावासले जनाएको छ। केही दिनअघि इजरायली सेनालाई उद्धृत गर्दै दूतावासले विपिन जोशी हमासकै कब्जामा रहेको पुष्टि गरेको थियो। तर उनको रिहाइको विषयमा भने नेपालको परराष्ट्र मन्त्रालय तथा दूतावासले केही जानकारी दिएको छैन। दूतावासका प्रथम सचिव अर्जुन घिमिरेले विपिन रिहा हुनेबारे दूतावासलाई कुनै खबर नआएको बताए। 

दोस्रो चरणमा शनिबार राति हमासले १३ जना इजरायली र ४ जना थाई नागरिकलाई रिहा गरेको थियो। यसअघि पहिलो चरणमा शुक्रबार १३ इजरायली, १० थाई र एक फिलिपिनी नागरिकलाई हमासले रिहा गरेको थियो। कतारले मध्यस्थता गरेको इजरायल–हमासबीचको चार दिने अस्थायी युद्धविराम र बन्दी साटफेर गर्ने सम्झौताअन्तर्गत हमासले छाड्ने इजरायली बन्धकहरूको तेबर संख्यामा इजरायलले प्यालेस्टिनी बन्दीहरू छाड्ने गरेको छ।