बेलायत जान अन्तर्वार्ताका लागि ७१ नर्स छनोट, भाषाको समस्या हुँदा अधिकांश आवेदन रद्द

नर्सको छनोटका लागि आईएलटीएसमा सात अंक ल्याउनुपर्ने, २ वर्षको कार्यानुभव भएको हुनुपर्ने लगायतका मापदण्ड तोकिएको थियो।

काठमाडाैँ– नेपालबाट रोजगारीका लागि बेलायत जान अन्तर्वार्ताका लागि ७१ नर्स छनोटमा परेका छन्। 

बेलायतमा रोजगारी दिने सम्झाैता अनुसार बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्ने उद्देश्यले माग गरिएको आवेदनमा ७१ जना नर्स अन्तर्वार्ताका लागि छनोटमा परेका वैदेशिक रोजगार विभागले जनाएको छ। डिसेम्बर ४ देखि ७ सम्म उनीहरूलाई अन्तर्वार्ताको लागि बोलाइएको छ। अन्तर्वार्ता लैनचाैरस्थित बेलायती दूतावासमा हुने छ।

हाललाई ‘पाइलटिङ’का रूपमा नेपालबाट १०० जना नर्सहरूलाई पठाउने गरी बेलायतसँग समझदारी भएको थियो। सोही समझदारी अनुसार त्यहाँ जान इच्छुक नर्सहरूका लागि सरकारले गत जुलाई २० मा गोरखापत्रमा सूचना जारी गर्दै अनलाइन आवेदन माग गरेको थियो। तर आवेदन दिएकामध्ये धेरैले मापदण्ड नै पूरा नगरेका कारण अधिकांशको आवेदन रद्द भएको वैदेशिक रोजगार विभागले जनाएको छ।

सात सय भन्दा धेरैले रजिस्ट्रेसन गरे पनि अधिकांशका आवश्यक कागजात अपुग थिए। विभागका सूचना अधिकारी कविराज उप्रेतीका अनुसार नर्सका लागि तोकिएको कडा मापदण्डका कारण थोरै मात्र मान्य आवेदन परेको हो। नर्सको छनोटका लागि आईएलटीएसमा सात अंक ल्याउनुपर्ने, दुई वर्षको कार्यानुभव भएको हुनुपर्ने लगायतका मापदण्ड तोकिएको थियो। तर अधिका‌ंश आवेदनमा भाषागत समस्या र कार्यानुभवको अभाव देखिएको सूचना अधिकारी उप्रेतीले बताए।